२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

मेयर मामदानीको स्पष्टीकरण: प्रहरी कमिश्नरले सिधै मलाई रिपोर्ट गर्नेछन्

मेयर मामदानीको स्पष्टीकरण: प्रहरी कमिश्नरले सिधै मलाई रिपोर्ट गर्नेछन्

न्युयोर्क सिटीका नयाँ मेयर जोहरान मामदानीले आफ्नो प्रशासनभित्रको कार्यविभाजन र रिपोर्टिङ संरचनाबारे व्याप्त अन्योललाई चिर्दै प्रहरी कमिश्नरले सिधै आफूलाई नै रिपोर्ट गर्ने स्पष्ट पारेका छन्। कार्यभार सम्हालेको पहिलो दिन मेयरले हस्ताक्षर गरेको एक कार्यकारी आदेशले प्रहरी कमिश्नर जेसिका टिसले मेयरलाई नभई प्रथम उपमेयरलाई रिपोर्ट गर्नुपर्ने सङ्केत गरेपछि विभिन्न प्रश्नहरू उठेका थिए। सञ्चारमाध्यमहरूमा यसलाई प्रहरी कमिश्नरको ‘पद अवनति’ (Demotion) का रूपमा समेत व्याख्या गरिएको थियो।

सोमबार आयोजित एक पत्रकार सम्मेलनमा मेयर मामदानीले उक्त कार्यकारी आदेश केवल दैनिक समन्वय र प्रशासनिक कामकाजको सरलीकरणका लागि मात्र भएको प्रस्ट्याए। उनले भने, “मेरा प्रहरी कमिश्नर र विद्यालय चान्सलर दुवैले विगतमा जस्तै सिधै मलाई नै रिपोर्ट गर्नेछन्।” मेयरले उपमेयर डिन फुलिहानले विभागहरू बीचको आपसी समन्वयको पाटो मात्र हेर्ने तर मुख्य कमान्ड भने मेयरकै हातमा रहने जानकारी दिए। यसअघि दे ब्लाजियो र ब्लुमबर्ग प्रशासनमा पनि उपमेयरहरूले प्रहरी विभागको व्यवस्थापनमा सहयोग गर्ने परम्परा रहेको थियो।

यद्यपि, न्युयोर्क प्रहरीका पूर्व प्रमुख टेरेन्स मोनाहानले भने यो नयाँ व्यवस्थाप्रति केही आशङ्का व्यक्त गरेका छन। उनका अनुसार मेयरको कार्यालय प्रहरी विभागको दैनिक र सामान्य काममा धेरै अल्झिनु हुँदैन, किनकि ती कामहरू प्रहरी कमिश्नरकै जिम्मेवारीभित्र पर्दछन्। मेयर मामदानीले भने आफ्नो प्रशासनले सहरको सुरक्षा र शिक्षा जस्ता महत्त्वपूर्ण क्षेत्रमा प्रभावकारी समन्वयका लागि यो संरचना तयार पारेको दाबी गरेका छन्।