२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

भोजपुरको समता स्कुलमा प्रविधिमैत्री शिक्षा: उपप्रमुखद्वारा कम्प्युटर हस्तान्तरण

भोजपुरको समता स्कुलमा प्रविधिमैत्री शिक्षा: उपप्रमुखद्वारा कम्प्युटर हस्तान्तरण

काठमाडौं- भोजपुर नगरपालिका–७ मा रहेको समता विद्यालयलाई प्रविधिमैत्री शिक्षणमा सहयोग पुर्‍याउने उद्देश्यले कम्प्युटर प्रदान गरिएको छ। भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले विद्यालयमा आयोजित एक कार्यक्रमका बीच चार थान कम्प्युटर हस्तान्तरण गर्नुभएको हो। विद्यार्थीहरू आफैँ उपप्रमुखको कार्यकक्षमा पुगेर कम्प्युटरको माग गरेपछि स्थानीय सरकारले उनीहरूको आवश्यकतालाई सम्बोधन गर्दै यो सहयोग गरेको हो। उपप्रमुख शेर्पाका अनुसार, शिक्षा क्षेत्रलाई गुणस्तरीय र समयसापेक्ष बनाउन आधुनिक प्रविधिको पहुँच पुर्‍याउनु स्थानीय सरकारको प्राथमिकतामा रहेको छ।

वि.सं. २०७५ सालदेखि सञ्चालनमा आएको यस विद्यालयमा हाल ३४३ विद्यार्थीहरू अंग्रेजी माध्यममा अध्ययनरत छन्। कम्प्युटर प्राप्त भएपछि विद्यालयको पठनपाठन अझ प्रभावकारी हुने अपेक्षा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन प्रधान र प्रधानाध्यापक मुना पाण्डेले व्यक्त गर्नुभएको छ। विद्यालयले अब विद्यार्थीहरूलाई नियमित रूपमा कम्प्युटर शिक्षा उपलब्ध गराउने गरी समय व्यवस्थापन गर्ने तयारी गरेको छ। यस पहलले दुर्गम क्षेत्रका विद्यार्थीहरूलाई आधुनिक प्रविधिसँग जोडिन र डिजिटल साक्षरता हासिल गर्न ठूलो मद्दत पुग्ने देखिएको छ।