२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

निर्माण क्षेत्रका आप्रवासी कामदारलाई कानुनी मान्यता दिन टेक्सासकी सांसदको पहल

निर्माण क्षेत्रका आप्रवासी कामदारलाई कानुनी मान्यता दिन टेक्सासकी सांसदको पहल

टेक्सास- टेक्सासकी रिपब्लिकन सांसद मोनिका डे ला क्रुजले संकटमा परेको निर्माण उद्योगलाई जोगाउन आप्रवासी कामदारहरूलाई कानुनी रूपमा काम गर्ने वातावरण मिलाउने प्रतिवद्धता व्यक्त गरेकी छन्। दक्षिण टेक्सासका निर्माण व्यवसायीहरूले अध्यागमन धरपकडका कारण आफ्नो उद्योग धराशायी हुन लागेको गुनासो गरेपछि उनले यस्तो कदम चालेकी हुन्। डे ला क्रुजले कृषि क्षेत्रका लागि रहेको ‘H-2A’ भिसा जस्तै निर्माण क्षेत्रका लागि पनि छुट्टै विशेष भिसा कार्यक्रम ल्याउनुपर्ने सुझाव दिएकी छन्।

राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूलाई देशनिकाला गर्ने कडा नीतिका बीच चुनाव जिते पनि आफ्नै दलकी सांसद डे ला क्रुजले भने यसको सन्तुलित विकल्प खोज्न थालेकी छन्। पछिल्लो एक वर्षमा दक्षिण टेक्सासमा मात्रै ९ हजार १०० भन्दा बढी आप्रवासीहरू पक्राउ परेका छन्, जसले गर्दा निर्माण कार्यहरूमा कामदारको चरम अभाव देखिएको छ। उनले आफूलाई दक्षिण टेक्सासका जनताले उनीहरूको आवाज बन्न चुनेको भन्दै आवश्यक परे ट्रम्प प्रशासनको नीतिको विरुद्धमा उभिएर भए पनि स्थानीय समृद्धिका लागि काम गर्ने बताएकी छन्।

रिपब्लिकन पार्टीभित्रै पनि अब कामदारको अभाव टार्न कानुनी बाटो खोल्ने विषयमा बहस सुरु भएको छ। यसअघि ट्रम्प र धेरै रिपब्लिकनहरूले कडा अध्यागमन नीतिले अमेरिकीहरूका लागि रोजगारीका अवसरहरू सिर्जना गर्ने तर्क गर्दै आएका थिए। तर, निर्माण व्यवसायीहरूको दबाब र आर्थिक वास्तविकताका कारण अहिले नीतिगत लचकताको माग बढ्न थालेको छ।