नेपालीका लागि अमेरिकी भिसा अब झन् कडा: धरौटी स्वरूप १५ हजार डलरसम्म राख्नुपर्ने
- २४ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- आउँदो जनवरी २१ देखि लागू हुने गरी अमेरिकाले नेपाललाई ‘भिसा बन्ड’ राख्नुपर्ने देशहरूको सूचीमा समावेश गरेको छ। अबदेखि नेपाली नागरिकले अमेरिकाको बी-१ र बी-२ (पर्यटक वा व्यावसायिक) भिसाका लागि आवेदन दिँदा ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने भएको छ। भिसाको नियम पालना गर्ने र तोकिएको समयमै स्वदेश फर्कने सुनिश्चितताका लागि अमेरिकाले यो आर्थिक जमानतको नियम ल्याएको हो।
भिसा अन्तर्वार्ताका क्रममा कन्सुलर अधिकृतले निर्देशन दिएपछि मात्र आवेदकले यो रकम अनलाइन प्रणालीमार्फत बुझाउनुपर्नेछ। तर, धरौटी बुझाउँदैमा भिसा पाउने ग्यारेन्टी भने हुँदैन। नयाँ नियम अनुसार भिसा पाउने नेपालीले अमेरिका प्रवेश र प्रस्थानका लागि केवल तीनवटा विमानस्थल— बोस्टन लोगन, जोन एफ. केनेडी र वासिङ्टन डलस— मात्र प्रयोग गर्न पाउनेछन्। यदि यी सर्तहरू उल्लङ्घन गरेमा वा तोकिएको समयभन्दा बढी अमेरिकामा बसेमा धरौटी रकम जफत हुनेछ। नियम पालना गरी समयमै फर्किएमा भने उक्त रकम फिर्ता पाइने व्यवस्था छ।