७ दिन, ७ महादेश: नेपाली पोसाकमा विश्व दौडँदै बाल जोशी
- २४ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- नेपाली मूलका अमेरिकी धावक बाल जोशीले विश्वकै चुनौतीपूर्ण मानिने ‘वर्ल्ड म्याराथन च्यालेन्ज’मा सहभागी भएर नयाँ इतिहास रच्ने भएका छन्। आगामी ३१ जनवरी २०२६ बाट अन्टार्टिकाबाट सुरु भई ६ फेब्रुअरीमा अमेरिकाको मायामीमा समापन हुने यस म्याराथनमा उनी नेपाली राष्ट्रिय पोसाक दौरा सुरुवाल लगाएर दौडिनेछन्। सन् २०१५ देखि सुरु भएको यस प्रतियोगितामा नेपाली भेषभूषामा दौडिने उनी पहिलो धावक हुनेछन्। ७ दिनमा २९४ किलोमिटरको दूरी पार गर्न जोशीले अन्टार्टिकाको माइनस २० डिग्रीदेखि दुबईको २५ डिग्री सेल्सियससम्मको तापक्रमको सामना गर्नुपर्नेछ।
सुर्खेतमा जन्मिएका ४१ वर्षीय जोशी पेशाले बैंकर हुन् र विगत दुई दशकदेखि अमेरिकाको टेक्सासमा बस्दै आएका छन्। उनले यसअघि नै संसारका दुई दर्जनभन्दा बढी म्याराथनमा भाग लिइसकेका छन्। जोशीको यो दौड केवल रेकर्डका लागि मात्र नभई सामाजिक कार्यसँग पनि जोडिएको छ। उनले ‘वान स्टेप फाउन्डेसन’ मार्फत नेपाल, अमेरिका र अफ्रिकाका बालबालिकाको शिक्षा र स्वास्थ्यका लागि दुई लाख डलरभन्दा बढी सहयोग जुटाइसकेका छन्। यस म्याराथनलाई उनले नेपाली सम्पदा र मौलिकतालाई विश्वमा चिनाउने एउटा सुनौलो अवसरका रूपमा लिएका छन्।
यस पटकको च्यालेन्जमा अमेरिका, चीन, भारत र बेलायतसहित ३० भन्दा बढी देशका ५४ जना धावकहरू सहभागी हुँदैछन्। धावकहरूले एक महादेशमा दौड सकिनेबित्तिकै होटलमा आराम नगरी सिधै चार्टर जहाजमार्फत अर्को महादेशको यात्रा तय गर्नुपर्नेछ।