आप्रवासीको लाइसेन्स रद्द नगर्दा क्यालिफोर्नियालाई १६ करोड डलरको बजेट धक्का
- २४ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- आप्रवासीहरूलाई जारी गरिएका १७ हजार व्यावसायिक ड्राइभिङ लाइसेन्स (CDL) रद्द गर्न ढिलाइ गरेपछि अमेरिकी संघीय सरकारले क्यालिफोर्निया राज्यलाई दिने १६ करोड डलर बजेट रोक्का गरिदिएको छ। यातायात सचिव सीन डफीले क्यालिफोर्नियाले संघीय नियमहरू उल्लङ्घन गरेको र असुरक्षित विदेशी चालकहरूलाई सडकमा गुड्न अनुमति दिएको भन्दै यो कडा कदम चालेका हुन्। यसअघि पनि अङ्ग्रेजी भाषाको दक्षता परीक्षण नगरेको भन्दै राज्यको ४ करोड डलर बजेट काटिएको थियो।
संघीय लेखापरीक्षणका क्रममा भिसाको म्याद सकिएका, वर्क पर्मिट नभएका र मेक्सिको वा क्यानडाका नागरिक भएर पनि प्रक्रिया नपुर्याई लाइसेन्स लिएका धेरै चालकहरू फेला परेका थिए। गत अगस्टमा फ्लोरिडामा एक अनधिकृत ट्रक चालकका कारण भएको दुर्घटनामा तीन जनाको ज्यान गएपछि यो मुद्दा राष्ट्रिय रूपमा तातेको हो। क्यालिफोर्नियाले ती लाइसेन्सहरू जनवरी ५ भित्र रद्द गर्ने प्रतिबद्धता जनाए पनि आप्रवासी अधिकारवादी संस्थाहरूले मुद्दा हालेपछि राज्यले सो प्रक्रियालाई मार्चसम्म धकेलेको थियो। सोही ‘अटेरी’ का कारण संघीय सरकारले बजेट रोक्का गरेको हो।
यस विवादको केन्द्रमा विशेष गरी ‘सिख’ समुदायका ट्रक चालकहरू परेका छन्, किनकि पछिल्ला केही घातक दुर्घटनामा उनीहरूको संलग्नता देखिएको थियो। सिख कोलिसन र एसियन ल ककसले यसलाई ‘नश्लीय भेदभाव’ भन्दै अदालतमा मुद्दा दर्ता गरेका छन्। उता, ट्रकिङ व्यवसायीहरूले भने अयोग्य र भाषा नबुझ्ने चालकहरू सडकमा हुनु सार्वजनिक सुरक्षाका लागि खतरा भएको भन्दै संघीय सरकारको कदमको स्वागत गरेका छन्। गभर्नर गेभिन न्युसमको कार्यालयले भने बजेट कटौतीको यस निर्णयमाथि हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।