आईसीई’ विरुद्ध सर्वसाधारण सडकमा, गभर्नरद्वारा शान्तिको अपील
- २४ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- ३७ वर्षीया रेनी निकोल म्याक्लिन गुडको ‘आईसीई’ (ICE) एजेन्टको गोलीबाट मृत्यु भएपछि मिनियापोलिस सहरमा गहिरो तनाव छाएको छ। सुरक्षा संवेदनशीलतालाई ध्यानमा राख्दै स्थानीय विद्यालयहरूले आफ्ना कक्षाहरू र सबै गतिविधिहरू रद्द गरेका छन्। गभर्नर टिम वाल्जले प्रदर्शनकारीहरूलाई शान्त रहन आग्रह गर्दै आवश्यकता परेमा ‘नेसनल गार्ड’ परिचालन गर्न आफू तयार रहेको बताएका छन्। उनले ट्रम्प प्रशासनले केवल “देखावटी नाटक” (Show) गर्न खोजेको आरोप लगाउँदै जनतालाई उत्तेजित नहुन सचेत गराएका छन्।
घटनाको भिडियो सार्वजनिक भएपछि विवाद झन् चर्किएको छ। भिडियोमा एक एजेन्टले महिलाको गाडीको ढोका तानिरहेको र अर्को एजेन्टले गाडी अगाडि बढ्ने बित्तिकै नजिकैबाट गोली चलाएको देखिन्छ। गृह सुरक्षा सचिव क्रिस्टी नोएमले यसलाई ‘घरेलु आतंकवाद’ को संज्ञा दिँदै एजेन्टले आफ्नो तालिम अनुसार आत्मरक्षामा गोली चलाएको दाबी गरेकी छन्। तर, मेयर ज्याकब फ्रेले नोएमको यो स्पष्टीकरणलाई “कचरा” भन्दै ती एजेन्टहरूलाई तत्काल सहर छोड्न चेतावनी दिएका छन्।
मृतक महिलाका जीवनसाथीले आफूहरू भर्खरै मिनिसोटा आएको र उनीहरूको एउटा बच्चा समेत रहेको बताउँदै न्यायको अपील गरेका छन्। यो घटना ट्रम्प प्रशासनको अहिलेसम्मकै ठुलो अध्यागमन अपरेशनका क्रममा भएको पाँचौँ मृत्यु हो। मिनियापोलिसका सडकमा “आईसीईलाई बाहिर निकाल” (ICE out of Minnesota) भन्दै सयौँ मानिसहरूले सिटी मार्च र शोक सभा आयोजना गरिरहेका छन्। संघीय सरकारले भने २,००० भन्दा बढी एजेन्टहरू परिचालन गरी आफ्नो अपरेशन जारी राख्ने अडान लिएको छ।