भेनेजुएला संकटप्रति नेपालको चासो: शान्तिपूर्ण संवाद र सार्वभौमसत्ताको सम्मानमा जोड
- २४ पुस २०८२
- १ मिनेटको पढाई
काठमाडौं- परराष्ट्र मन्त्रालयले बुधबार (७ जनवरी २०२६) एक विज्ञप्ति जारी गर्दै भेनेजुएलामा विकसित पछिल्ला घटनाक्रमप्रति नेपालको आधिकारिक धारणा सार्वजनिक गरेको छ। नेपालले त्यहाँका सबै पक्षहरूलाई उच्चतम संयम अपनाउन र तनावलाई अझ बढावा दिने खालका गतिविधिहरू नगर्न आह्वान गरेको छ। पछिल्लो समय अमेरिकाले भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी न्युयोर्क पुर्याएको र तेल नाकाबन्दी कडा पारेको पृष्ठभूमिमा नेपालको यो प्रतिक्रिया आएको हो।
विज्ञप्तिमा नेपालले संयुक्त राष्ट्रसंघको बडापत्र (UN Charter) मा उल्लेखित सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता र राजनीतिक स्वतन्त्रताको सिद्धान्तलाई पूर्ण रूपमा सम्मान गर्नुपर्ने कुरामा जोड दिएको छ। नेपालले कुनै पनि देशको आन्तरिक विवादलाई बाह्य हस्तक्षेपभन्दा पनि शान्तिपूर्ण संवाद, कूटनीति र आपसी समझदारीबाट समाधान गरिनुपर्ने स्पष्ट पारेको छ।
अन्तर्राष्ट्रिय मञ्चमा सधैँ ‘अहस्तक्षेप’ र ‘पञ्चशील’ को सिद्धान्तलाई आत्मसात् गर्दै आएको नेपालले भेनेजुएलाको संकट समाधानका लागि कूटनीतिक बाटो नै उत्तम हुने धारणा राखेको छ।