२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

गाडी फोहोर हुने डरले कुकुरलाई पछाडि बाँधेर घिसार्ने न्युयोर्कका पुरुष पक्राउ

गाडी फोहोर हुने डरले कुकुरलाई पछाडि बाँधेर घिसार्ने न्युयोर्कका पुरुष पक्राउ

न्युयोर्क- न्युयोर्कको क्विन्समा एक ६८ वर्षीय वृद्धलाई आफ्ना दुईवटा कुकुरलाई गुडिरहेको गाडीको पछाडि बाँधेर घिसारेको आरोपमा पक्राउ गरिएको छ। डान बुजोर नाम गरेका ती व्यक्तिले “कुकुरले गाडीभित्र दिसा नगरुन्” भन्ने आशयले उनीहरूलाई गाडीको पछाडि बाँधेर हिँड्न बाध्य पारेको स्वीकार गरेका छन्। यो घटना आइतबार लङ आइल्याण्ड सिटीमा घटेको हो, जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि सर्वसाधारणले आक्रोश व्यक्त गरेका छन्।

‘मार्जिपान’ र ‘नुगाट’ नाम गरेका ती दुई कुकुरहरूलाई हाल एएसपीसीएको सुध्रार गृहमा राखिएको छ। घिसारिएका कारण एउटा कुकुरको कानको जाली फुटेको छ भने अर्कोको पन्जामा गहिरो चोट लागेको छ। एक प्रत्यक्षदर्शीका अनुसार एउटा कुकुरको डोरी फुत्किएपछि मात्र बुजोरले उनीहरूलाई गाडीभित्र हालेका थिए।

बुजोरमाथि पशु क्रूरताका दुईवटा मुद्दा र लाइसेन्स बिना गाडी चलाएको अभियोग लगाइएको छ। यद्यपि, ‘न्युयोर्क सिटी सेकेन्ड चान्स रेस्क्यु’ की संस्थापक जेनिफर ब्रुक्सले बुजोर पहिलेदेखि नै जनावर प्रेमी रहेको र यो घटना उनको “निर्णय लिने क्षमतामा आएको अचानकको कमजोरी” हुन सक्ने बताएकी छन्। तर, स्थानीय बासिन्दाहरूले भने यस्तो कार्यलाई माफी दिन नसकिने भन्दै कडा सजायको माग गरेका छन्।