२५ फाल्गुन २०८२, सोमवार
9 March 2026, Monday

अमेरिकी बहिर्गमनप्रति राष्ट्रसङ्घको चिन्ता: “कानुनी दायित्व भुल्न मिल्दैन”

अमेरिकी बहिर्गमनप्रति राष्ट्रसङ्घको चिन्ता: “कानुनी दायित्व भुल्न मिल्दैन”

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसङ्घका ३१ वटा एजेन्सीसहित ६६ वटा अन्तर्राष्ट्रिय संस्थाहरूबाट हात झिक्ने घोषणा गरेपछि राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले गहिरो खेद र चिन्ता व्यक्त गर्नुभएको छ। राष्ट्रसङ्घका प्रवक्ता स्टेफन डुजारिकले एक विज्ञप्ति जारी गर्दै राष्ट्रसङ्घको नियमित बजेट र शान्तिरक्षा कार्यमा योगदान दिनु संयुक्त राज्य अमेरिकासहित सबै सदस्य राष्ट्रहरूको कानुनी दायित्व भएको स्मरण गराउनुभएको छ।

विशेष गरी जलवायु परिवर्तनसम्बन्धी संयन्त्र (UNFCCC) र जनसङ्ख्या कोष (UNFPA) जस्ता महत्वपूर्ण निकायहरूबाट अमेरिका बाहिरिँदा विश्वव्यापी स्वास्थ्य र वातावरणीय सुरक्षामा ठुलो धक्का लाग्ने देखिएको छ। जलवायु सम्मेलनका कार्यकारी सचिव साइमन स्टिलले त यो निर्णयले स्वयम् अमेरिकी अर्थतन्त्रलाई नै नोक्सान पुर्‍याउने चेतावनी दिनुभएको छ। उहाँका अनुसार जलवायु सहयोगबाट पछि हट्दा अमेरिकामा ऊर्जा, खाद्यान्न र बिमाको लागत बढ्नेछ भने प्राकृतिक विपद्को जोखिम पनि उच्च हुनेछ।

ट्रम्प प्रशासनले यी संस्थाहरूलाई “अमेरिकी हितविपरीत” रहेको ठहर गरे पनि राष्ट्रसङ्घले भने विश्वभरका मानिसहरूको सेवा गर्ने आफ्नो संकल्पमा अडिग रहने बताएको छ। राष्ट्रसङ्घले अमेरिकाका लागि भविष्यमा पुनः फर्कने ढोका सधैँ खुल्ला रहने भन्दै कूटनीतिक संवादको आशा अझै जीवितै राखेको छ।