ब्रुकलिन अस्पतालमा चक्कु देखाएर आतंक, प्रहरीको गोलीबाट एकको मृत्यु
- २५ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क – न्युयोर्कको ब्रुकलिनस्थित ‘न्युयोर्क-प्रेसबिटेरियन ब्रुकलिन मेथोडिस्ट हस्पिटल’ भित्र बिहीबार साँझ एक व्यक्तिको प्रहरीको गोलीबाट मृत्यु भएको छ। अस्पतालको आठौँ तलामा ती व्यक्तिले चक्कु देखाएर मानिसहरूलाई धम्क्याउनुका साथै आफूलाई एउटा कोठामा बन्धक बनाएपछि स्थिति तनावपूर्ण बनेको थियो। प्रहरीका अनुसार गत बुधबार मात्र अस्पताल भर्ना भएका ती व्यक्तिले स्वास्थ्यकर्मीहरूलाई समेत ज्यान मार्ने धम्की दिएका थिए।
घटनास्थल पुगेका प्रहरी अधिकारीहरूले ती व्यक्तिलाई पटक-पटक हतियार फाल्न र आत्मसमर्पण गर्न निर्देशन दिएका थिए। तर, उनले प्रहरीको आदेश नमानी उल्टै चक्कु लिएर आक्रमण गर्न खोजेपछि प्रहरीले सुरुमा दुई पटकसम्म ‘टेजर’ प्रयोग गरेको थियो। टेजरले उनलाई नियन्त्रणमा लिन नसकेपछि र उनी निरन्तर आक्रामक रूपमा प्रहरीतिर बढ्न थालेपछि आत्मरक्षार्थ गोली चलाउनुपरेको एनवाइपीडी (NYPD) ले जनाएको छ। गोली लागेका ती व्यक्तिको केही मिनेटमै अस्पतालमा उपचारका क्रममा मृत्यु भयो। प्रहरीले घटनास्थलबाट चक्कु बरामद गरेको छ र ती व्यक्तिले अस्पतालभित्र हतियार कसरी पुर्याए भन्नेबारे गम्भीर अनुसन्धान सुरु गरिएको छ।