२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

ग्रिनल्यान्डमा ट्रम्पको कडा अभिव्यक्ति: ‘कुनै न कुनै तरिकाले’ नियन्त्रणमा लिने दाबी

ग्रिनल्यान्डमा ट्रम्पको कडा अभिव्यक्ति: ‘कुनै न कुनै तरिकाले’ नियन्त्रणमा लिने दाबी

न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक र प्राकृतिक स्रोतले सम्पन्न टापु ग्रिनल्यान्डलाई अमेरिकाले ‘कुनै न कुनै तरिकाले’ आफ्नो नियन्त्रणमा लिएरै छाड्ने उद्घोष गरेका छन्। आइतबार एयर फोर्स वनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यदि वासिङ्टनले यो कदम नचालेमा रुस वा चीनले उक्त टापु कब्जा गर्ने खतरा रहेको औंल्याए। ट्रम्पले खनिज स्रोतले भरिपूर्ण यो स्वशासित क्षेत्र अमेरिकी राष्ट्रिय सुरक्षाका लागि अनिवार्य रहेको बताउँदै रुस र चीनको बढ्दो सैन्य गतिविधिलाई रोक्न ग्रिनल्यान्डमाथि अमेरिकाको अधिकार हुनुपर्नेमा जोड दिए। उनले भने, “यदि हामीले ग्रिनल्यान्ड लिएनौँ भने रुस वा चीनले लिनेछन्, म त्यसो हुन दिन्नँ।”

राष्ट्रपति ट्रम्पले डेनमार्कसँग सम्झौताका लागि आफू तयार रहेको बताए पनि ग्रिनल्यान्डको सुरक्षा क्षमतामाथि व्यङ्ग्य गर्दै त्यहाँको रक्षा व्यवस्था निकै कमजोर रहेको टिप्पणी गरे। ट्रम्पको यो अभिव्यक्तिले डेनमार्क र अन्य युरोपेली सहयोगीहरूमा गहिरो चिन्ता पैदा गरेको छ। डेनिस प्रधानमन्त्रीले यसअघि नै बल प्रयोग गरेर ग्रिनल्यान्ड लिने प्रयास गरेमा आठ दशकदेखिको सुरक्षा सम्बन्ध र नेटो (NATO) गठबन्धन नै धराशायी हुन सक्ने चेतावनी दिइसकेकी छिन्। तर ट्रम्पले भने नेटोलाई असर परे पनि ग्रिनल्यान्ड अमेरिकाका लागि बढी महत्वपूर्ण रहेको भन्दै आफ्नो अडान कायमै राखेका छन्। ग्रिनल्यान्डका बासिन्दाहरूले भने आफूहरू अमेरिकी नियन्त्रणमा जान अनिच्छुक रहेको र आफ्नो भविष्य आफैँ तय गर्न पाउनुपर्ने माग गर्दै आएका छन्।