२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

नेपालको नयाँ फड्को: विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज अन्तरिक्षमा प्रक्षेपण गरिँदै

नेपालको नयाँ फड्को: विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज अन्तरिक्षमा प्रक्षेपण गरिँदै

काठमाडौं- नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा-प्रतिष्ठान (नास्ट) को पहलमा स्वदेशमै विकसित ‘मुनाल’ नामक उपग्रह आज अन्तरिक्षमा प्रक्षेपण गरिँदैछ। उच्च माध्यमिक तहका विद्यार्थीहरूको नेतृत्वमा निर्माण गरिएको यो उपग्रह नेपालको प्रविधि विकासको इतिहासमा एउटा महत्वपूर्ण कोशेढुङ्गा मानिएको छ। दुई वर्षको अथक प्रयासपछि नेपालकै पहिलो स्पेस सिस्टम प्रयोगशालामा तयार पारिएको मुनाल उपग्रहले विशेषगरी वनस्पति अनुगमन, नयाँ प्रविधिको परीक्षण र कृत्रिम बौद्धिकता (AI) मा आधारित तथ्याङ्क प्रशोधनमा सहयोग पुर्‍याउने लक्ष्य राखेको छ।

नास्टका सचिव डा. रवीन्द्रप्रसाद ढकालका अनुसार यो उपग्रह भारतीय समय अनुसार बिहान १०:१७ बजे (नेपाली समय १०:३२ बजे) भारतको श्रीहरिकोटास्थित सतीश धवन अन्तरिक्ष केन्द्रबाट प्रक्षेपण हुनेछ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (ISRO) को ‘एसएलभी-सिक्स टू’ रकेटमार्फत यसलाई अन्तरिक्षमा पठाइँदैछ। ललितपुरको खुमलटारस्थित ग्राउन्ड स्टेसनबाट सञ्चालन गरिने यो उपग्रहले नेपाली युवा विद्यार्थीहरूको क्षमतालाई विश्वस्तरमा चिनाउने अपेक्षा गरिएको छ। यसअघिको ‘नेपाली स्याट-१’ पछि मुनाल उपग्रहको प्रक्षेपणले नेपालको आफ्नै अन्तरिक्ष सपनालाई फेरि नयाँ उचाइमा पुर्‍याएको छ।