क्यानडाको ब्रिटिश कोलम्बियामा मे २९ लाई ‘नेपाली सम्पदा दिवस’ घोषणा: नेपाली समुदायका लागि ऐतिहासिक सम्मान
- २८ पुस २०८२
- १ मिनेटको पढाई
क्यानडा- क्यानडाको ब्रिटिश कोलम्बिया प्रान्तले आगामी मे २९, २०२६ लाई ‘नेपाली सम्पदा दिवस’का रूपमा मनाउने औपचारिक घोषणा गरेको छ। प्रान्तकी लेफ्टिनेन्ट गभर्नर वेन्डी कोच्चियाद्वारा जनवरी ९, २०२६ मा हस्ताक्षर गरी जारी गरिएको यो घोषणापत्रले प्रवासमा रहेका नेपालीहरूका लागि ठुलो सम्मान र खुसीको खबर ल्याएको छ।
घोषणापत्रमा उल्लेख भएअनुसार, ब्रिटिश कोलम्बिया सांस्कृतिक रूपमा विविधतापूर्ण प्रान्त हो र यहाँ बसोबास गर्ने नेपाली मूलका मानिसहरूले प्रान्तको सामाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक विकासमा अतुलनीय योगदान पुर्याएका छन्। विशेष गरी मे २९ को दिनलाई छनोट गर्नुको पछाडि ऐतिहासिक कारण रहेको छ। सन् १९५३ मा आजकै दिन नेपाली नागरिक तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरमाथा (माउन्ट एभरेस्ट) को सफल आरोहण गरेका थिए। यो दिनलाई साहस, एकता र हिमालयन सम्पदाको प्रतीक मानिन्छ।
यो घोषणासँगै अब ब्रिटिश कोलम्बियामा मे २९ को दिन नेपाली संस्कृति, इतिहास र योगदानलाई सम्मान गर्ने तथा उत्सव मनाउने विशेष अवसरको रूपमा स्थापित भएको छ।