ट्रम्पद्वारा आफैँलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा
- २८ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक विवादास्पद र अनौठो कदम चाल्दै आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ घोषणा गरेका छन्। भेनेजुएलाका तत्कालीन राष्ट्रपति निकोलास मादुरो र उनकी पत्नी सिलिया फ्लोरेसलाई अमेरिकी नियन्त्रणमा लिएपछि सिर्जना भएको अन्तर्राष्ट्रिय हलचलकै बिच ट्रम्पले यो दाबी पेश गरेका हुन्। उनले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा विकिपिडियाको एक स्क्रिनसट सेयर गरेका थिए, जहाँ उनको तस्बिरसहित पदको विवरणमा ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ उल्लेख गरिएको थियो।
यद्यपि, भेनेजुएलाको सर्वोच्च न्यायाधिकरणले मादुरोको अनुपस्थितिमा प्रशासनिक निरन्तरताका लागि उपराष्ट्रपति डेल्सी रोड्रिगेजलाई कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी तोकेको थियो। तर, ट्रम्पले यसअघि नै एक पत्रकार सम्मेलनमार्फत संक्रमणकालिन अवस्थामा भेनेजुएलाको शासन सत्ता अमेरिकाले चलाउने बताएका थिए। यसै सन्दर्भमा उनले क्युबाको राष्ट्रपतिको रूपमा अमेरिकी सिनेटर मार्को रुबियोको नाम जोडेर ठट्टा समेत गरेका छन्। मादुरो कब्जामा परेपछि भेनेजुएला पूर्णतः अमेरिकाको मातहतमा रहेको ट्रम्पको बुझाइ छ, जसले कूटनीतिक वृत्तमा ठुलो बहस निम्त्याएको छ।