प्रहरी चौकीभित्रै श्रीमतीको गोली हानी हत्या : सुरक्षामा प्रश्न उठेपछि दुई प्रहरी निलम्बित
- २८ पुस २०८२
- १ मिनेटको पढाई
भारत – उत्तर प्रदेशको हरदोई जिल्लास्थित पाली प्रहरी चौकीभित्रै सोमबार बिहान एक व्यक्तिले आफ्नी श्रीमतीको गोली हानी हत्या गरेका छन्। प्रहरीकै सामुन्ने भएको यो सनसनीपूर्ण घटनाले त्यहाँको कानुन–व्यवस्था र सुरक्षा सतर्कतामाथि गम्भीर प्रश्न खडा गरेको छ। प्रहरीको चरम लापरवाही देखिएपछि घटनालगत्तै अनुसन्धान अधिकारी र एक महिला सिपाहीलाई तत्काल निलम्बन गरिएको छ।
घटना सोमबार बिहान करिब पौने ११ बजे भएको हो। पाँच दिनअघि प्रेमीसँग भागेकी सोनी नामकी महिलालाई प्रहरीले बरामद गरी थानामा ल्याएको थियो। मेडिकल परीक्षणको तयारी भइरहँदा उनी थानाको मेसबाट खाना खाएर बाहिर निस्कँदै थिइन्। सोही समयमा त्यहाँ पुगेका उनका पति अनुपले अचानक पेस्तोल निकालेर सोनीको दाहिने काँधमा गोली हानेका थिए। गोली छाती वारपार भएपछि रक्ताम्य भएकी सोनीको उपचारका क्रममा मृत्यु भयो। १७ वर्षअघि विवाह भएको यो दम्पतीको १२ वर्षका एक छोरा समेत छन्।
प्रहरीले भाग्न खोज्ने आरोपी अनुपलाई तत्कालै नियन्त्रणमा लिएको छ। घटनालगत्तै एसपी अशोक कुमार मीणाले कर्तव्यमा लापरवाही गरेको भन्दै दारोगा विक्रान्त र महिला सिपाही संजना राजपुतलाई निलम्बन गरेका छन्। प्रहरी चौकीजस्तो संवेदनशील र सुरक्षित मानिने स्थानमा एक व्यक्ति हतियारसहित कसरी प्रवेश गरे र प्रहरीकै अगाडि हत्या गर्न सफल भए भन्ने विषय अहिले गम्भीर अनुसन्धानको विषय बनेको छ।