अमेरिका प्रवेशका लागि नयाँ नियम: धरौटी राखेर भिसा लिने नेपालीका लागि ९ वटा प्रवेश बिन्दु
- २९ पुस २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी विदेश मन्त्रालयले ‘भिसा बन्ड पाइलट परियोजना’ अन्तर्गत धरौटी राखेर बी१/बी२ (पर्यटक तथा व्यापारिक) भिसा लिने नेपाली लगायतका ३८ देशका नागरिकहरूका लागि अमेरिका प्रवेश गर्ने र बाहिरिने अध्यागमन बिन्दुहरू थप गरेको छ। यसअघि तीनवटा मात्र रहेकोमा अब क्यानडाका दुईसहित कुल ९ वटा विमानस्थल तोकिएको छ। यो व्यवस्था विशेष गरी भिसा अवधि सकिएपछि पनि अमेरिकामा अवैध रूपमा बसिरहने दर उच्च भएका देशहरूका लागि लागु गरिएको हो।

नयाँ व्यवस्थाअनुसार अब यात्रुहरूले न्यूयोर्क (JFK, Newark), वाशिङ्टन (Dulles), बस्टन, एट्लान्टा, शिकागो, लस एन्जलसका साथै क्यानडाको टोरन्टो र मोन्ट्रिअल विमानस्थल प्रयोग गर्न सक्नेछन्। भिसा लिँदा आवेदकले ५ हजारदेखि १५ हजार अमेरिकी डलरसम्म धरौटी राख्नुपर्ने हुन्छ। यदि तोकिएको समयमै फर्किएमा उक्त रकम फिर्ता पाइनेछ, तर नियम उल्लंघन गरेमा धरौटी जफत हुनेछ। आर्थिक वर्ष २०२४ मा ३.१२ प्रतिशत नेपाली पर्यटक भिसामा गएर नफर्केको तथ्याङ्कले देखाएको छ। राष्ट्रपति ट्रम्पको कडा आप्रवासन नीतिको हिस्साको रूपमा यो कदमलाई लिइएको छ, जसले अवैध आप्रवासन नियन्त्रण गर्ने लक्ष्य राखेको छ।