२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

इरान-अमेरिका तनाव उत्कर्षमा: अमेरिकाले आक्रमण गरे इजरायल र अमेरिकी बेसमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

इरान-अमेरिका तनाव उत्कर्षमा: अमेरिकाले आक्रमण गरे इजरायल र अमेरिकी बेसमा प्रत्याक्रमण गर्ने इरानको चेतावनी

न्युयोर्क- इरानमा जारी सरकार विरोधी प्रदर्शनले भयावह रूप लिँदै गर्दा इरान र अमेरिकाबीचको द्वन्द्व चरम उत्कर्षमा पुगेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानी जनताले “स्वतन्त्रता खोजिरहेको” भन्दै उनीहरूलाई सघाउन अमेरिका तयार रहेको अभिव्यक्ति दिएपछि इरानले कडा चेतावनी जारी गरेको छ। इरानी संसद्का सभामुखले यदि अमेरिकाले इरानमाथि कुनै पनि प्रकारको आक्रमण गरेमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार, पानीजहाज रइजरायललाई ‘जायज निशाना’ बनाएर प्रत्याक्रमण गरिने बताएका छन्। अमेरिकी अधिकारीहरूले भने ट्रम्पलाई इरानविरुद्ध सैन्य र साइबर हमलाका विकल्पहरू ब्रिफिङ गरिसकेको बताइएको छ।

यता इरानभित्रको अवस्था भने ‘युद्धमैदान’ जस्तै बनेको छ। अधिकारकर्मीहरूका अनुसार प्रदर्शनमा ४९५ जना प्रदर्शनकारी र ४८ जना सुरक्षाकर्मी मारिएका छन् भने १०,६०० भन्दा बढी पक्राउ परेका छन्। तेहरान र राश्तका अस्पतालहरूमा टाउको र छातीमा गोली लागेका शवहरूको चाङ लागेको बीबीसीले जनाएको छ। इरानी महान्यायाधिवक्ताले प्रदर्शनकारीलाई “ईश्वरको शत्रु” को संज्ञा दिँदै मृत्युदण्ड हुन सक्ने चेतावनी दिएका छन्। सर्वोच्च नेता अयातोल्लाह अली खामेनेई र राष्ट्रपति मसूद पेजेश्किआनले देशमा भइरहेको हिंसा र आगजनीका पछाडि अमेरिका रइजरायलको हात रहेको आरोप लगाउँदै तीनदिने राष्ट्रिय शोकको घोषणा गरेका छन्। बिहीबारदेखि इरानमा इन्टरनेट पूर्ण रूपमा बन्द गराइएको छ।