नेपाल–भारत धार्मिक सम्बन्धको पुनर्जागरण: गोरखाबाट गोरखपुरका लागि ‘खिचडी यात्रा’ प्रस्थान
- २९ पुस २०८२
- १ मिनेटको पढाई
काठमाडौं- ऐतिहासिक जिल्ला गोरखाको प्रसिद्ध गोरखनाथ मन्दिरबाट भारतको उत्तर प्रदेशस्थित गोरखपुरमा रहेको गोरखनाथ मन्दिरसम्मको ‘खिचडी यात्रा’ आजदेखि सुरु भएको छ। दुई देशबीचको प्राचीन धार्मिक र सांस्कृतिक सम्बन्धलाई जोगाउँदै गोरखामा धार्मिक पर्यटक आकर्षित गर्ने उद्देश्यले गौमाता सेवा महासङ्घको अगुवाइमा यो यात्रा निकालिएको हो। बाजागाजासहित सुरु भएको ५० जनाको टोली आज भैरहवा पुग्ने र माघ १ गते माघे सङ्क्रान्तिको अवसरमा गोरखपुर पुगेर गोरखनाथ मन्दिरमा खिचडी अर्पण गर्ने कार्यक्रम रहेको छ।
करिब २० वर्षभन्दा बढी समयदेखि रोकिएको यो परम्परालाई पछिल्लो तीन वर्षदेखि पुनः निरन्तरता दिन थालिएको हो। परम्पराअनुसार, गोरखाबाट लगिएको चामल, मासको दाल, घिउ र नुन मिसाइएको खिचडीलाई गोरखपुरको मन्दिरमा ब्रह्ममुहूर्तको समयमा चढाएपछि मात्र त्यहाँ खिचडी भोग सुरु गर्ने चलन छ। गोरखा नगरपालिकाका प्रमुख कृष्णबहादुर रानामगरका अनुसार यस यात्राले दुई देशबीचको जनस्तरको सम्बन्धलाई बलियो बनाउनुका साथै आगामी दिनमा गोरखामा लाखौँ भारतीय धार्मिक पर्यटक भित्र्याउन ठुलो मद्दत पुग्ने विश्वास गरिएको छ।