२६ फाल्गुन २०८२, मङ्लबार
10 March 2026, Tuesday

एटलान्टिक सिटीको अपार्टमेन्टमा भीषण आगलागी

एटलान्टिक सिटीको अपार्टमेन्टमा भीषण आगलागी

न्युयोर्क- अमेरिकाको न्यु जर्सीस्थित एटलान्टिक सिटीमा बुधबार बिहानै एउटा ठूलो दुर्घटना भयो। त्यहाँको २८०० ब्लक एटलान्टिक एभिन्युमा रहेको १३ तले ‘ब्राइटन टावर’ अपार्टमेन्टको आठौँ तलामा बिहान पौने ५ बजेतिर एक्कासि भीषण आगो सल्कियो। आगो लागेको थाहा पाउनेबित्तिकै ज्यान जोगाउनका लागि भवनका बासिन्दाहरूमा भागदौड मच्चियो। लिफ्ट चल्ने अवस्था नभएपछि मानिसहरू सिँढीबाटै ओर्लिएर बाहिर निस्कन सफल भए।

आगो निभाउनका लागि झन्डै ९० जना अग्निनियन्त्रकहरू घटनास्थलमा पुगेका थिए। उनीहरूले भवनभित्र फसेका १६० भन्दा बढी फ्ल्याटका बासिन्दा र विशेष गरी हिँड्न नसक्ने वृद्धवृद्धालाई बोकेरै बाहिर निकाले। यो उद्धार कार्यमा खटिएका एक प्रहरी अधिकारी धुवाँले निसास्सिएर घाइते भए पनि उपचारपछि उनी घर फर्किएका छन्। अरू पाँच जना बासिन्दालाई पनि सामान्य चोटपटक लागेकाले घटनास्थलमै उपचार गरियो।

यो आगलागीबाट भवनका १२ वटा फ्ल्याटहरू पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् र त्यहाँ बस्ने १२ जना मानिस अहिले विस्थापित भएका छन्। उनीहरूलाई बस्ने व्यवस्था मिलाउन रेडक्रसले सहयोग गरिरहेको छ। सुरक्षा निर्देशक सिन रिगिनले यति ठूलो भवनमा लागेको आगोलाई थोरै क्षतिमा नियन्त्रणमा लिनु ठूलो सफलता भएको बताए। अहिले आगो लाग्नुको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ।