२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

मिनियापोलिसमा संघीय एजेन्टको ‘अध्यागमन छापा’: रेनी गुडको मृत्युपछि हिंसा र सन्त्रास

मिनियापोलिसमा संघीय एजेन्टको ‘अध्यागमन छापा’: रेनी गुडको मृत्युपछि हिंसा र सन्त्रास

न्युयोर्क- अमेरिकाको मिनेसोटा राज्यमा ट्रम्प प्रशासनले सुरु गरेको ‘अपरेशन मेट्रो सर्ज’ ले जनजीवन अस्तव्यस्त बनाएको छ। झन्डै ३,००० संघीय एजेन्टहरूले मिनियापोलिस र सेन्ट पलका सडकहरूमा छापा मार्न थालेपछि त्यहाँको अवस्था तनावपूर्ण बनेको छ। यही कारबाहीका क्रममा गत ७ जनवरीमा ३७ वर्षीया अमेरिकी नागरिक रेनी गुडको संघीय एजेन्टको गोली लागेर मृत्यु भएपछि प्रदर्शनले उग्र रूप लिएको छ। रेनी आफ्ना छिमेकीलाई मद्दत गर्न खोज्दा एजेन्टको निशानामा परेकी थिइन्। संघीय अधिकारीले यसलाई ‘आत्मरक्षा’ भने पनि स्थानीय मेयर र गभर्नरले यसलाई ‘हत्या’ भन्दै निन्दा गरेका छन्।

अहिले मिनियापोलिसका सडकहरूमा दिनहुँ प्रदर्शनकारी र संघीय एजेन्टबीच झडप भइरहेका छन्। एजेन्टहरूले अश्रुग्यास र फ्ल्यास ग्रेनेड प्रहार गरिरहेका छन् भने प्रदर्शनकारीले ‘ICE Out’ भन्दै नाराबाजी गरिरहेका छन्। सन् २०२० मा जर्ज फ्लोयडको हत्या भएको स्थान नजिकै रेनीको मृत्यु भएकाले स्थानीयमा पुरानो चोट फेरि बल्झिएको छ। सन्त्रासका कारण धेरै विद्यालय र व्यवसायहरू बन्द छन्, र मानिसहरू घरबाहिर निस्कन डराइरहेका छन्। गभर्नर टिम वाल्ज र मेयर ज्याकब फ्रेले संघीय सरकारको यो कदमलाई ‘विदेशी आक्रमण’ जस्तै भएको बताएका छन्। यता अमेरिकी न्याय विभागले भने उल्टै गभर्नर र मेयरमाथि संघीय काममा बाधा पुर्‍याएको भन्दै अनुसन्धान सुरु गरेको छ।