नेपालसहित ७५ देशलाई अमेरिकी ‘आप्रवासी भिसा’मा रोक: को-को पर्छन् असरमा?
- ०३ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- ट्रम्प प्रशासनले आगामी जनवरी २१ देखि लागु हुने गरी नेपाल, पाकिस्तान, अफगानिस्तान र बंगलादेशसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा दिन अनिश्चितकालका लागि बन्द गर्ने घोषणा गर्यो। अमेरिकाको सरकारी कल्याणकारी सुविधाको दुरुपयोग रोक्न र आप्रवासीहरू आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्ने भन्दै यस्तो कडा कदम चालिएको हो। ट्रम्पले यी देशहरूलाई “उच्च जोखिम” को सूचीमा राख्दै उनीहरू अमेरिकी अर्थतन्त्रमा भार बन्न नहुने तर्क गरेका छन्।
यो निर्णयले खासगरी अमेरिकी नागरिकका नातेदार, ग्रीनकार्ड वाहकका परिवार, कामदार भिसा र लगानीकर्ताहरूलाई सिधै असर पार्नेछ। यद्यपि, पहिले नै भिसा पाइसकेका व्यक्तिहरूलाई भने यसले असर गर्ने छैन। विदेश मन्त्रालयले भिसा आवेदन र अन्तर्वार्ताको प्रक्रिया जारी राख्ने भने पनि समाचार संस्था एपीका अनुसार सम्बन्धित देशका दूतावासहरूलाई आवेदनहरू ‘यथास्थिति’ मा राख्न निर्देशन दिइएको छ। यसअघि नै डीभी (DV) कार्यक्रम स्थगित गरिसकेका ट्रम्पले यो नयाँ निर्णयमार्फत वैध आप्रवासनमा समेत ठुलो धक्का दिएका छन्।