प्रतिनिधिसभा निर्वाचन: मनोनयन दर्ताको तयारी पूरा, उम्मेदवारले बुझाउनुपर्ने १३ कागजात
- ०५ माघ २०८२
- २ मिनेटको पढाई
काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मनोनयनपत्र दर्ताको सम्पूर्ण तयारी पूरा गरेको छ। देशभरका १६५ वटै निर्वाचन अधिकृतका कार्यालयहरूमा उम्मेदवारको नामावली रुजु गर्ने सामग्री र जनशक्ति परिचालन भइसकेका छन्। निर्वाचन आयोगका अनुसार उम्मेदवारहरूले भोलि मङ्गलबार बिहान १० बजेदेखि बेलुकी ५ बजेसम्म मनोनयन दर्ता गर्न सक्नेछन्।
यसपटक निर्वाचन आयोगले उम्मेदवारी दर्ताका लागि कडा नियम र कागजातको व्यवस्था गरेको छ: १. नागरिकता वा मतदाता परिचयपत्रको प्रतिलिपि। २. सम्बन्धित स्थानीय तहको मतदाता नामावलीमा नाम भएको निस्सा। ३. सरकारी वा अनुदान प्राप्त संस्थाको बहाल रहेको पदबाट राजीनामा दिएको निस्सा। ४. सम्बन्धित क्षेत्रको मतदाता नामावलीमा रहेका एक प्रस्तावक र एक समर्थकको विवरण। ५. दलको तर्फबाट भए उम्मेदवार मनोनयनको औपचारिक पत्र (अनुसूची ७ वा ८)। ६. १० हजार रुपैयाँ धरौटी जम्मा गरेको रसिद (महिला, दलित वा विपन्नलाई ५० प्रतिशत छुट)। ७. आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा स्थानीय तहको सिफारिस। ८. सिलबन्दी गरिएको चल-अचल सम्पत्ति विवरण। ९. उम्मेदवारको वैयक्तिक विवरण फारम (अनुसूची १०)। १०. पेस्की लिएको भए सो फर्छ्यौट भएको निस्सा। ११. लेखापरीक्षणबाट कायम भएको बेरुजु फर्छ्यौट गरेको निस्सा। १२. निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता पत्र। १३. कानुनले अयोग्य नभएको र सबै नियम पालना गर्ने स्वघोषणा पत्र।
मनोनयन दर्तासँगै आयोगले अन्य कार्यक्रमहरूको पनि घोषणा गरेको छ। भोलि मङ्गलबार मनोनयन दर्ता भएपछि माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दिने समय तोकिएको छ। माघ ८ गते उजुरीउपर जाँचबुझ गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। माघ ९ गते उम्मेदवारले नाम फिर्ता लिने अन्तिम समय रहेको छ भने सोही दिन बेलुकी उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिनेछ। आयोगले यसपटक सम्पत्ति विवरण र स्वघोषणालाई अनिवार्य गर्दै निर्वाचनलाई थप पारदर्शी बनाउन खोजेको छ।