२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

सांस्कृतिक विविधता र आपसी विश्वास नै दिगो स्थिरताको आधार: प्रधानमन्त्री कार्की

सांस्कृतिक विविधता र आपसी विश्वास नै दिगो स्थिरताको आधार: प्रधानमन्त्री कार्की

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले नेपालका सबै समुदायको मौलिक पर्व, भाषा र संस्कृतिको संरक्षण गर्नु राज्यको मुख्य दायित्व भएको बताएकी छन्। सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङले काठमाडौँको टुँडिखेलमा आयोजना गरेको ‘तामाङ सांस्कृतिक महोत्सव’लाई सम्बोधन गर्दै उनले सरकार सांस्कृतिक पहिचानको प्रवद्र्धनप्रति सदैव प्रतिबद्ध रहेको विश्वास दिलाइन्।

प्रधानमन्त्री कार्कीका अनुसार देशले अहिले शान्ति, सुव्यवस्था र राजनीतिक स्थायित्व खोजिरहेको परिप्रेक्ष्यमा विभिन्न जातजातिबीचको आपसी सम्मान र सहिष्णुताले मात्रै मुलुकलाई दिगो स्थिरतातर्फ लैजान सक्छ। सोनाम ल्होछारजस्ता मौलिक पर्वहरूले राष्ट्रिय एकताको भाव बलियो बनाउनुका साथै नेपालको सांस्कृतिक पहिचानलाई विश्वमञ्चमा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।

ल्होछारसँग जोडिएको पञ्चतत्व र स्वस्थ जीवन दर्शनको चर्चा गर्दै प्रधानमन्त्रीले तामाङ समुदायको रैथाने ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्नुपर्नेमा जोड दिइन्। तामाङ संस्कृति र जीवन पद्धतिको गहिरो पक्षले नेपालको विविधतालाई झन् समृद्ध बनाएको भन्दै उनले सांस्कृतिक महोत्सवमा प्रस्तुत वेशभूषा र कलाको प्रशंसा समेत गरिन्।