ट्रम्पद्वारा सयौँ करोड डलर जरिवाना र आर्थिक अपराधमा सजाय पाएकाहरूलाई क्षमादान
- ०६ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकालको पहिलो वर्षमै आर्थिक अपराधमा संलग्न दर्जनौँ धनी व्यक्ति र राजनीतिज्ञहरूलाई राष्ट्रपति क्षमादान (Pardon) दिएका छन्। ट्रम्पले ‘मनि लाउन्डरिङ’, बैंक ठगी र कर छली जस्ता गम्भीर ‘ह्वाइट कोलर’ अपराधमा दोषी ठहरिएका व्यक्तिहरूलाई प्राथमिकताका साथ माफी दिएका हुन्। यसरी माफी पाउनेहरूमा ठुला व्यापारिक घरानाका कार्यकारी, अर्बपति र राजनीतिक सहयोगीहरू रहेका छन्।
यस पटकको क्षमादान प्रक्रियामा सबैभन्दा उल्लेखनीय पक्ष भनेको मिनाहा गरिएको विशाल जरिवाना रकम हो। ट्रम्पबाट माफी पाएका ८८ व्यक्ति र संस्थाहरूले तिर्नुपर्ने कुल २९ करोड ८० लाख डलर (करिब ४० अर्ब नेपाली रुपैयाँ) बराबरको जरिवाना र क्षतिपूर्ति रकम अब राज्यले पाउने छैन। माफी पाउने चर्चित व्यक्तिहरूमा क्रिप्टो बजारका दिग्गज च्याङपेङ झाओ र अर्बपति जो लेविस जस्ता प्रभावशाली व्यक्तित्वहरू छन्। ट्रम्पले यो कदमलाई न्याय प्रणालीको दुरुपयोग विरुद्धको लडाइँ भने पनि आलोचकहरूले भने यसले अपराधीहरूलाई उन्मुक्ति दिएको र पीडितहरूको न्यायमा कुठाराघात गरेको आरोप लगाएका छन्।