प्रतिनिधिसभा निर्वाचन: प्रत्यक्षतर्फ करिब ३ हजार उम्मेदवारी, महिलाको संख्या न्यून
- ०६ माघ २०८२
- १ मिनेटको पढाई
काठमाडौं- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभर प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता प्रक्रिया उत्साहजनक र शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ। निर्वाचन आयोगले मंगलबार साँझ पत्रकार सम्मेलन गर्दै १६५ वटै निर्वाचन क्षेत्रमा मनोनयन पत्र दर्ताको काम सकिएको जानकारी दिएको हो।
देशभरबाट प्रत्यक्षतर्फ करिब ३ हजार उम्मेदवारले मनोनयन दर्ता गराएका छन्। आयोगको प्रारम्भिक तथ्यांक अनुसार २ हजार ५ सय ८९ पुरुष र ३ सय ३६ महिला उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्। यो तथ्यांकले पुरुषको तुलनामा महिला उम्मेदवारको संख्या निकै न्यून रहेको देखाउँछ। आयोगका अनुसार सबैभन्दा बढी उम्मेदवारी रुपन्देही जिल्लामा परेको छ भने सबैभन्दा कम मुस्ताङमा दर्ता भएको छ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उम्मेदवारी दर्ता प्रक्रियामा देखिएको उत्साहले आगामी मतदानमा पनि जनताको व्यापक सहभागिता रहने विश्वास व्यक्त गर्नुभयो। निर्वाचनका लागि आवश्यक सुरक्षा प्रबन्ध र जनशक्तिको व्यवस्थापन भइसकेको आयोगले जनाएको छ। निर्वाचन कार्यतालिका अनुसार माघ ७ गते उम्मेदवारविरुद्ध उजुरी दिने, माघ ८ गते उजुरीमाथि जाँचबुझ गरी नामावली प्रकाशन गर्ने र माघ ९ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ।