२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

मिनेसोटामा अध्यागमन अपरेशन: सरकारी अधिकारीहरूमाथि अनुसन्धान र कानुनी लडाइँ तीव्र

मिनेसोटामा अध्यागमन अपरेशन: सरकारी अधिकारीहरूमाथि अनुसन्धान र कानुनी लडाइँ तीव्र

न्युयोर्क- मिनेसोटामा चलिरहेको विशाल अध्यागमन अपरेशनले अहिले कानुनी र राजनीतिक मोड लिएको छ। संघीय अभियोजकहरूले मंगलबार गभर्नर टिम वाल्जसहित पाँच जना उच्च अधिकारीहरूलाई ‘ग्रान्ड जुरी सबपोटा’ (अदालती आदेश) जारी गरेका छन्। उनीहरूले अध्यागमन अधिकारीहरूको काममा बाधा पुर्‍याएको हो कि होइन भन्नेबारे अनुसन्धान सुरु गरिएको छ। यो आदेश गभर्नर वाल्ज, महान्यायाधिवक्ता कीथ एलिसन र मिनियापोलिसका मेयर ज्याकोब फ्रे लगायतका कार्यालयहरूमा पठाइएको छ।

बर्डर पेट्रोलका कमाण्डर ग्रेगोरी बोभिनोले मिनेसोटामा भइरहेको यो अपरेशनलाई ‘कानुनी, नैतिक र जायज’ भनेर बचाउ गरेका छन्। उनका अनुसार पछिल्लो एक वर्षमा १० हजारभन्दा बढी अवैध आप्रवासीहरू पक्राउ परेका छन्, जसमा ३ हजार जना ‘खतरनाक अपराधी’ छन्। तर, स्थानीय अभियन्ताहरूले भने अधिकारीहरूको यो दाबीमाथि प्रश्न उठाएका छन्। गत जनवरी ७ मा रेनी गुडको गोली हानी हत्या भएपछि यहाँको वातावरण निकै तनावपूर्ण छ। प्रदर्शनकारीहरूले अध्यागमन अधिकारीहरूको खेदो खनिरहेका छन् भने अधिकारीहरूले अश्रुग्यास प्रयोग गरेर भीड नियन्त्रण गर्ने प्रयास गरिरहेका छन्।

यसैबीच, एउटा चर्चमा पसेर प्रदर्शनकारीहरूले अवरोध पुर्‍याएपछि विवाद झन् बढेको छ। उक्त चर्चका एक पादरी अध्यागमन कार्यालयमा पनि काम गर्ने भएकाले आन्दोलनकारीले उनको राजीनामा मागेका छन्। उप-राष्ट्रपति जेडी भान्स पनि बिहीबार यहाँ आएर स्थानीय नेतृत्वसँग छलफल गर्ने तयारीमा छन्। मेयर फ्रेले भने संघीय सरकारले राजनीति गर्न र स्थानीय आवाज दबाउन प्रहरी शक्तिको प्रयोग गरेको भन्दै विरोध गरेका छन्।