२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

ट्रम्पको एक वर्ष: ५८३ नेपाली अमेरिकाबाट निष्कासित

ट्रम्पको एक वर्ष: ५८३ नेपाली अमेरिकाबाट निष्कासित

न्युयोर्क- डोनाल्ड ट्रम्प दोस्रो पटक अमेरिकी राष्ट्रपति बनेपछिको पहिलो एक वर्षमा ५ सय ८३ जना नेपालीलाई अमेरिकाले डिपोर्ट (देश निकाला) गरेको छ। सन् २०२५ जनवरी २० मा शपथ लिएलगत्तै ट्रम्पले अवैध आप्रवासीलाई हटाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए, जसको प्रत्यक्ष असर नेपालीहरूमा पनि देखिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका अनुसार सन् २०२४ मा जम्मा ३५ जना नेपाली डिपोर्ट भएकामा ट्रम्पको आगमनसँगै यो संख्या ह्वात्तै बढेको हो।

अध्यागमन अधिकारी अनुज भण्डारीका अनुसार अमेरिकाले धेरैजसो नेपालीलाई चार्टर्ड विमानमा राखेर काठमाडौँ पठाउने गरेको छ। गत सोमबार मात्रै एकैदिन ९१ जना नेपालीलाई डिपोर्ट गरेर नेपाल उतारिएको थियो, जुन अहिलेसम्मकै ठुलो संख्या हो। डिपोर्टमा पर्नेहरूमा धेरैजसो अवैध बाटो (मानव तस्करको माध्यम) बाट अमेरिका छिरेका, भिसा बिना बसेका र कानुनी आधार स्थापित गर्न नसकेकाहरू छन्। ट्रम्प प्रशासनले निष्कासन गर्ने सूचीमा अझै १ हजार ३ सयभन्दा बढी नेपालीको नाम रहेको बताइएको छ। काठमाडौँ आइपुगेका उनीहरूलाई प्रहरीले मानव तस्करबारे सूचना लिन सोधपुछ गर्ने गरेको छ।