ट्रम्पद्वारा ग्रिनल्यान्डमा अमेरिकी झन्डा गाडेको तस्बिर सार्वजनिक
- ०७ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डको भूमिमा अमेरिकी झन्डा गाड्दै गरेको तस्बिर आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसियल’ मा पोस्ट गरेका छन्। यो तस्बिर सार्वजनिक भएपछि अन्तर्राष्ट्रिय राजनीतिमा नयाँ तरंग पैदा भएको छ। तस्बिरमा ट्रम्पका साथमा उपराष्ट्रपति जेडी भान्स र विदेशमन्त्री मार्को रुबियो पनि उभिएका देखिन्छन्। उनीहरूका नजिकै रहेको एउटा बोर्डमा ‘ग्रिनल्यान्ड, अमेरिकी भूभाग, स्थापना २०२६’ लेखिएको छ।
ट्रम्पले सोही दिन ओभल कार्यालयमा युरोपेली नेताहरूसँग भेटघाट गरिरहेको अर्को तस्बिर पनि साझा गरेका छन्। उक्त तस्बिरको पृष्ठभूमिमा रहेको नक्सामा संयुक्त राज्य अमेरिका, क्यानडा, ग्रिनल्यान्ड र भेनेजुएलालाई अमेरिकी झन्डाको मुनि देखाइएको छ, जसले ट्रम्पको विस्तारवादी सोचलाई संकेत गर्छ। यसै सन्दर्भमा उनले नाटो (NATO) का महासचिव मार्क रुटसँग टेलिफोन वार्ता गरी ग्रिनल्यान्डको विषयमा छलफल गरेको पनि बताएका छन्। ट्रम्पको यो कदमलाई लिएर युरोपेली राष्ट्रहरू र डेनमार्कले भने कडा आपत्ति जनाउँदै आएका छन्।