अमेरिका औपचारिक रूपमा विश्व स्वास्थ्य संगठन (WHO) बाट बाहिरियो
- ०८ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- संयुक्त राज्य अमेरिका औपचारिक रूपमा विश्व स्वास्थ्य संगठन (WHO) बाट अलग भएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सम्हालेको पहिलो दिन (२० जनवरी २०२५) मा दिएको आदेशको एक वर्षको अनिवार्य सूचना अवधि पूरा भएपछि यो निर्णय कार्यान्वयनमा आएको हो। ट्रम्प प्रशासनले डब्लुएचओ कोभिड-१९ महामारी नियन्त्रणमा असफल भएको, चीनको राजनीतिक प्रभावमा परेको र अमेरिकाले धेरै लगानी गर्दा पनि प्रतिफल नपाएको आरोप लगाउँदै आएको थियो।
अमेरिका बाहिरिएसँगै डब्लुएचओ चरम आर्थिक संकटमा धकलिएको छ। संगठनको कुल बजेटको १८ प्रतिशत हिस्सा ओगट्ने अमेरिकाले सन् २०२४ र २०२५ को गरी करिब २६ करोड डलर (करिब ३४ अर्ब नेपाली रुपैयाँ) बक्यौता रकम तिर्न बाँकी नै छ। बजेट अभावका कारण डब्लुएचओले आफ्नो व्यवस्थापन टोली आधा घटाएको छ भने यस वर्षको मध्यसम्ममा २५ प्रतिशत कर्मचारी कटौती गर्ने तयारी गरेको छ। जर्जटाउन विश्वविद्यालयका प्रोफेसर लरेन्स गोस्टिनले बक्यौता नतिरी बाहिरिनु अमेरिकी कानुनको उल्लंघन भएको बताएका छन्।
डब्लुएचओका महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले यो निर्णयले अमेरिका र विश्व दुवैलाई घाटा हुने भन्दै पुनर्विचारको आशा व्यक्त गरेका छन्। यता डाभोसमा रहेका बिल गेट्सले अमेरिका तत्काल डब्लुएचओमा फर्कने सम्भावना कम रहेको बताए। विज्ञहरूले भने विश्वव्यापी महामारीको जोखिम कायमै रहेका बेला सबैभन्दा ठुलो दाता बाहिरिँदा स्वास्थ्य सुरक्षा प्रणाली नै कमजोर हुने चेतावनी दिएका छन्।