न्यूयोर्क र न्युजर्सीमा ‘मोन्स्टर’ हिमपातको चेतावनी, ८ देखि १२ इन्चसम्म हिउँ पर्न सक्ने
- ०९ माघ २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- न्यूयोर्क र न्युजर्सी क्षेत्रमा भारी हिमपात (Snow Storm) हुने पूर्वानुमान गरिएको छ। मौसमविद्हरूका अनुसार आइतबारदेखि सुरु हुने यो आँधीले न्यूयोर्क सिटी, हड्सन भ्याली, न्युजर्सी र कनेक्टिकटका धेरैजसो भागमा ८ देखि १२ इन्चसम्म हिउँ थुपार्न सक्छ। तटीय क्षेत्रहरूमा भने हिउँसँगै असिना र पानी पर्ने सम्भावना रहेकाले त्यहाँ हिउँको मात्रा केही कम हुन सक्छ। सन् २०२१ को फेब्रुअरीपछि यो न्यूयोर्कमा हुन लागेको सबैभन्दा ठुलो हिमपात हुने अनुमान गरिएको छ।
न्यूयोर्कका मेयर जोहरान मामदानीले यसलाई आफ्नो कार्यकालको सबैभन्दा ठुलो परीक्षा मान्दै ३ देखि १२ इन्चसम्मको हिउँ सामना गर्न सहर पूर्ण रूपमा तयार रहेको बताएका छन्। शुक्रबारदेखि नै सडकमा नुन छर्कने र सरसफाइको काम सुरु गरिनेछ भने शनिबारदेखि २ हजार सरसफाइकर्मीलाई १२ घण्टे ड्युटीमा खटाइनेछ। ७०० वटा नुन छर्कने मेसिनहरू सडकमा तैनाथ गरिनेछन्।
आइतबार दिउँसो र साँझ मौसम सबैभन्दा खराब हुने र सोमबार बिहानसम्म यसको असर रहनेछ। यसले गर्दा सोमबार बिहानको यात्रा निकै कष्टकर हुन सक्ने र विद्यालय, व्यवसाय तथा सरकारी कार्यालयहरू बन्द हुन सक्ने चेतावनी दिइएको छ। हिमपातपछि अत्यधिक चिसो बढ्ने र तापक्रम माइनसमा झर्न सक्ने भएकाले कम्तीमा एक हप्तासम्म जाडोको प्रकोप रहिरहनेछ। साथै, डलास र एटलान्टा जस्ता प्रमुख हबहरूमा उडान प्रभावित हुँदा त्यसको असर देशभर पर्न सक्ने र आइतबार तथा सोमबार यात्रा नगर्न सुझाव दिइएको छ।