अमेरिकामा आप्रवासीमाथि भइरहेको ‘नियमित दुर्व्यवहार’ प्रति राष्ट्रसंघको कडा आलोचना
- ०९ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- संयुक्त राष्ट्रसंघका मानव अधिकार प्रमुख भोल्कर टर्कले अमेरिकामा आप्रवासी र शरणार्थीमाथि भइरहेको ‘नियमित दुर्व्यवहार’ प्रति गम्भीर चिन्ता र आश्चर्य प्रकट गरेका छन्। शुक्रबार एक विज्ञप्ति जारी गर्दै उनले अमेरिकी अधिकारीहरूले गरिरहेको अमानवीय व्यवहार र परिवार विछोड गराउने कार्य तत्काल रोक्न वासिङ्टनलाई आग्रह गरे। टर्कले प्रश्न गरे, “उनीहरूको आत्मसम्मान र हाम्रो साझा मानवताको चिन्ता कहाँ छ?” उनले अमेरिका जस्तो मुलुकका लागि आप्रवासीहरूको अमानवीय चित्रण र दुर्व्यवहार सुहाउँदो विषय नभएको टिप्पणी गरेका छन्।
राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले लाखौँ अवैध आप्रवासीलाई देश निकाला गर्न देशभर अभियान चलाइरहेको सन्दर्भमा राष्ट्रसंघको यो भनाइ आएको हो। विशेष गरी मिनियापोलिसमा हजारौँ ‘आईस’ (ICE) एजेन्टहरू परिचालन गरिएका छन्। त्यहाँ ५ वर्षीय बालकलाई हिरासतमा लिइएको घटना र पुस २३ (जनवरी ७) मा अमेरिकी नागरिक रेनी गुडको गोली हानी हत्या भएपछि अवस्था तनावपूर्ण बनेको छ। राष्ट्रसंघीय उच्चायुक्तको कार्यालयले अमेरिकी सुरक्षाकर्मीहरूले आप्रवासन कारबाहीका क्रममा बारम्बार अनावश्यक र असङ्गत बल प्रयोग गरिरहेको भन्दै त्यसको निन्दा गरेको छ र मानवीय गरिमाको सम्मान गर्न अमेरिकालाई सचेत गराएको छ।