२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

अमेरिकामा ‘मोन्स्टर’ हिमआँधीले जनजीवन अस्तव्यस्त: १२ राज्यमा आपतकाल घोषणा

अमेरिकामा ‘मोन्स्टर’ हिमआँधीले जनजीवन अस्तव्यस्त: १२ राज्यमा आपतकाल घोषणा

न्युयोर्क- अमेरिकामा शनिबारदेखि सुरु भएको भीषण हिमआँधीले जनजीवन पूरै ठप्प पारेको छ। भारी हिमपात र ‘आइस स्टर्म’ (Ice Storm) का कारण हजारौँ उडान रद्द भएका छन् भने सडकमा जमेको बाक्लो बरफले यातायात अवरुद्ध बनाएको छ। राष्ट्रपति डोनाल्ड ट्रम्पले कम्तीमा १२ वटा राज्यमा आपतकाल घोषणा गरेका छन्। मौसमविद्हरूले हिउँ पग्लन समय लाग्ने भएकाले उद्धार कार्य अझै कठिन हुने चेतावनी दिएका छन्।

हिमपातको सबैभन्दा ठुलो असर टेक्सस र लुइसियानामा देखिएको छ, जहाँ १ लाख ४० हजारभन्दा बढी घरमा बिजुली बन्द भएको छ। बरफको भारले रुखहरू ढल्दा विद्युतका तारहरू चुँडिएका छन्। शनिबार र आइतबार गरी देशभर १३ हजारभन्दा बढी उडान रद्द भइसकेका छन्, जसमा डलास विमानस्थलमा मात्रै ७०० उडान प्रभावित भए। मिडवेस्ट क्षेत्रमा तापक्रम माइनस ४० डिग्री फरेनहाइटसम्म झरेको छ। न्यासभिल, ह्युस्टन, फिलाडेल्फिया जस्ता सहरमा विद्यालयहरू बन्द गरिएका छन् भने होमल्यान्ड सेक्युरिटीले सबैलाई घरभित्रै सुरक्षित रहन आग्रह गरेको छ।