राष्ट्रिय झन्डाको दुरुपयोग नगर्न गृह मन्त्रालयको चेतावनी: नियम मिचे कारबाही
- ११ माघ २०८२
- १ मिनेटको पढाई
काठमाडौं- गृह मन्त्रालयले राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झन्डाको प्रयोग गर्दा त्यसको मर्यादा नमिच्न सबैलाई आग्रह गरेको छ। आज (आइतबार) एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले झन्डाको प्रयोग प्रचलित कानुनअनुसार मात्र गर्न सचेत गराएको हो। यदि कसैले यसको दुरुपयोग गरेको पाइएमा कानुनबमोजिम कडा कारबाही हुने चेतावनी पनि दिइएको छ।
मन्त्रालयले निर्वाचन आचारसंहिता र मुलुकी अपराधसंहिताको व्यवस्था स्मरण गराउँदै चुनावी र्याली वा सभामा दल वा उम्मेदवारले १० वटाभन्दा बढी राष्ट्रिय झन्डा प्रयोग गर्न नपाउने स्पष्ट पारेको छ। साथै, झन्डालाई च्यात्न, जलाउन, सामान पोको पार्न, विज्ञापनमा प्रयोग गर्न वा कम्मरभन्दा मुनिको भागमा पहिरिन सख्त मनाही गरिएको छ। झन्डा उल्टो (चन्द्रमा तल पर्ने गरी) राख्न वा फ्याँक्न पनि पाइने छैन। प्रमुख जिल्ला अधिकारीले आफ्नो क्षेत्रमा झन्डाको सही प्रयोग भए-नभएको अनुगमन गर्नेछन्।