२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चको एक्सन: सक्कल फाइल मगायो

रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्चको एक्सन: सक्कल फाइल मगायो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित ठगीको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध सर्वोच्च अदालतले कडा कदम चालेको छ। आइतबार न्यायाधीशद्वय मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले महान्यायाधिवक्ता कार्यालयले गरेको निर्णयका सक्कल फाइलहरू झिकाउने आदेश दिए।

सहकारीको करोडौँ रकम गोर्खा मिडियामा लगेर अपचलन गरेको आरोपमा रविमाथि मुद्दा चलिरहेको थियो। तर, महान्यायाधिवक्ता सबिता भण्डारीले रवि जोडिएको यो गम्भीर मुद्दालाई कमजोर बनाउने गरी अभियोग सच्याउने र फिर्ता लिने निर्णय गरिन्। यो निर्णय ‘शक्ति र पहुँचको दुरुपयोग’ भएको भन्दै त्यसलाई बदर गर्न माग गरेर सर्वोच्चमा रिट परेको थियो। अब सर्वोच्च अदालतले ती सक्कल कागजात हेरेपछि मात्र महान्यायाधिवक्ताको निर्णय सही थियो वा गलत भन्ने फैसला गर्नेछ। यदि अदालतले सरकारी निर्णय खारेज गरिदियो भने रविमाथिका ती पुराना गम्भीर आरोपहरू फेरि ब्युँतिने छन् र उनले पुनः कानुनी लडाइँ लड्नुपर्नेछ।