२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

अमेरिकाको नयाँ रक्षा नीति: ‘आफ्नो सुरक्षा आफै गर’, क्यानडालाई ट्रम्पको कडा धम्की

अमेरिकाको नयाँ रक्षा नीति: ‘आफ्नो सुरक्षा आफै गर’, क्यानडालाई ट्रम्पको कडा धम्की

न्युयोर्क- अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) ले शुक्रबार राति एउटा नयाँ र कडा सन्देश सहितको ‘राष्ट्रिय रक्षा रणनीति’ सार्वजनिक गरेको छ। यो ३४ पन्ने दस्तावेजले अमेरिकाको वर्षौँ पुरानो बाटोलाई पूरै मोडेको छ। अब अमेरिकाले आफ्ना पुराना साथीहरू—चाहे ती युरोपका नेटो देश हुन् वा एसियाली सहयोगी—लाई स्पष्ट भनिदिएको छ: “आफ्नो सुरक्षाको भारी अब आफै बोक, सधैं अमेरिकाको मुख नताक।”

यो नयाँ नीति अनुसार, अब रुस वा उत्तर कोरियाको डर देखाएर अमेरिकालाई मात्र गुहार्न पाइने छैन। युरोपले रुसको सामना आफै गर्न सक्ने क्षमता राख्छ भन्ने अमेरिकी ठहर छ। रोचक कुरा त के छ भने, सन् २०२२ को नीतिमा ताइवानको रक्षा गर्ने कुरा थियो, तर यसपालि ताइवानको नामै निशान छैन। चीनलाई अपमान गर्ने होइन, तर अमेरिकामाथि हावी हुन नदिने रणनीति लिइएको छ। साथै, अमेरिकाले ग्रिनल्यान्ड र पनामा नहर जस्ता रणनीतिक ठाउँमा आफ्नो पकड छोड्ने छैन।

यता राष्ट्रपति ट्रम्पले छिमेकी क्यानडालाई पनि सातो बोलाएका छन्। क्यानडाका प्रधानमन्त्री मार्क कर्नीलाई चेतावनी दिँदै उनले भनेका छन्, “खबरदार! यदि चीनसँग व्यापार सम्झौता गर्ने हो भने, अमेरिका पठाउने क्यानडाका सबै सामानमा तुरुन्तै १०० प्रतिशत कर (ट्यारिफ) लगाइदिनेछु।” यो धम्कीले क्यानडालाई ठुलो धर्मसंकटमा पारेको छ।