अमेरिकी सांसद म्याक्सवेल फ्रस्टमाथि जातीय आक्रमण: ‘ट्रम्पले डिपोर्ट गर्छन्’ भन्दै मुक्का प्रहार
- १२ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- फ्लोरिडाका डेमोक्र्याटिक सांसद म्याक्सवेल अलेजान्ड्रो फ्रस्टमाथि युटा राज्यमा चलिरहेको ‘सन्डास फिल्म फेस्टिभल’ मा जातीय दुर्व्यवहारसहित कुटपिट भएको छ। २९ वर्षीय फ्रस्ट, जो अमेरिकी कंग्रेसमा निर्वाचित हुने पहिलो ‘जेन जी’ र एफ्रो-क्युबन हुन्, उनलाई शुक्रबार राति एक पार्टीमा “ट्रम्पले तिमीलाई डिपोर्ट (देश निकाला) गर्नेछन्” भन्दै एक व्यक्तिले अनुहारमा मुक्का हानेका हुन्।
सांसद फ्रस्टले सामाजिक सञ्जालमा आफू सुरक्षित रहेको जानकारी दिँदै आक्रमणकारीले रक्सीको नसामा जातीय गालीगलौज गर्दै भाग्न खोजेको बताएका छन्। पार्क सिटी प्रहरीले आक्रमणमा संलग्न क्रिस्चियन यंग नामक व्यक्तिलाई पक्राउ गरी ‘एग्राभेटेड बर्गेलरी’ र कुटपिटको मुद्दा चलाएको छ। ती व्यक्ति विना निमन्त्रणा जबर्जस्ती पार्टीमा छिरेका थिए र बाथरुममा “आफू गोरा भएकोमा गर्व छ” भन्दै कराएका थिए। हाउस माइनोरिटी लिडर हकिम जेफ्रिजले यो घटनालाई “भयानक” भन्दै कडा शब्दमा निन्दा गरेका छन्। फ्रस्टले भनेका छन्, “हामी डरलाग्दो समयमा छौँ, तर कोही पनि डराउनु हुँदैन।”