न्यूयोर्क क्षेत्रमा चिसोले ११ जनाको मृत्यु: हिउँ पन्छाउँदा हृदयघातको जोखिम
- १३ माघ २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- न्यूयोर्क र आसपासका क्षेत्रमा अत्यधिक चिसो र हिमपातका कारण हालसम्म ११ जनाको मृत्यु भएको छ। न्यूयोर्क सहरभित्र मात्रै ८ जना मानिस चिसोमा कठ्यांग्रिएर मृत फेला परेका छन्। मेयर जोहरान मामदानीले यो अवस्थालाई गम्भीर मान्दै सहरमा ‘इनहान्स्ड कोड ब्लु’ जारी गरेका छन्। यसअन्तर्गत ५० भन्दा बढी अस्पताल र सेल्टरहरूले कागजी प्रक्रिया बिना नै जो कोहीलाई आश्रय दिइरहेका छन्।
लङ आइल्याण्डको नासाउ काउन्टीमा हिउँ पन्छाउने क्रममा हृदयघात भएर दुई जनाको ज्यान गएको छ। त्यस्तै, न्युजर्सीको भेरोनामा पनि ६७ वर्षीय एक वृद्ध हातमा बेल्चा लिएर लडेको अवस्थामा मृत भेटिए। प्रहरीका अनुसार धेरैजसो मृत्यु हिउँ पन्छाउँदा मुटुमा पर्ने दबाब र अत्यधिक चिसोका कारण भएको हो। अमेरिकाभर चिसोका कारण अहिलेसम्म २१ जनाको मृत्यु भइसकेको छ र यो साताको अन्त्यमा फेरि अर्को हिमआँधी आउने खतरा रहेको मौसमविद्हरूले बताएका छन्।