न्यूयोर्कमा ‘प्राणघातक’ चिसोको चेतावनी: बाहिर निस्कनु खतरनाक
- १३ माघ २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क- न्यूयोर्कको आपतकालीन व्यवस्थापन कार्यालयले सहरमा ‘प्राणघातक’ चिसो बढ्ने भन्दै गम्भीर चेतावनी जारी गरेको छ। मंगलबार मध्यरातपछि आर्कटिक हावाको अर्को लहर आउने भएकाले बुधबार बिहानसम्म ‘विन्ड चिल’ माइनस ९ डिग्रीसम्म झर्ने अनुमान छ। अधिकारीहरूले भनेका छन्, “बाहिर निस्कँदा पीडादायी महसुस हुनेछ, र नाङ्गो छाला केही मिनेटमै जम्न सक्छ।”
यही चिसोका कारण शनिबारदेखि सोमबारसम्म न्यूयोर्क सहरमा मात्रै ८ जनाको मृत्यु भइसकेको छ भने अमेरिकाभर यो संख्या २३ पुगेको छ। मेयर जोहरान मामदानीले चिसोबाट बच्न ‘कोड ब्लु’ जारी राखेका छन्, जसअन्तर्गत सडकमा कोही जोखिममा देखिए ३११ मा फोन गर्दा सिधै ९११ मा कल जाने व्यवस्था मिलाइएको छ। घरका पाइपहरू जम्ने र गाडी स्टार्ट नहुने समस्या आउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरिएको छ। साथै, यो साताको अन्त्यमा फेरि अर्को हिमआँधी आउने सम्भावना पनि देखिएको छ।