रास्वपा सभापति रवि लामिछाने अस्पताल भर्ना: खुट्टामा संक्रमण
- १३ माघ २०८२
- १ मिनेटको पढाई
काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना भएका छन्। केही दिनअघि जनकपुरको सभामा सहभागी हुँदा उनको देब्रे खुट्टामा चोट लागेको थियो। त्यही सामान्य चोटको संक्रमण छालाको भित्री तहसम्म फैलिएपछि चिकित्सकको सल्लाहमा उनलाई भर्ना गरिएको हो।
उनका स्वकीय सचिव अविनाश आचार्यका अनुसार, चोट धेरै गम्भीर नभए पनि संक्रमणको जोखिम हुन सक्ने भएकाले केही दिन डाक्टरको निगरानीमा राख्नुपरेको हो। पूर्ण निको भएपछि मात्र उनी राजनीतिक काममा फर्किनेछन्। अस्पतालमा भीडभाड हुँदा अन्य बिरामीलाई गाह्रो हुने भन्दै सचिवालयले शुभचिन्तकहरूलाई भेटघाटका लागि नआउन आग्रह गरेको छ। पछिल्लो केही दिनदेखि उनी सार्वजनिक रूपमा नदेखिँदा सामाजिक सञ्जालमा खोजी भइरहेको थियो।