२४ फाल्गुन २०८२, आइतवार
8 March 2026, Sunday

सांसद इल्हान ओमारमाथि आक्रमणको प्रयास: टाउन हलमै ‘स्प्रे’ छर्कने व्यक्ति पक्राउ

सांसद इल्हान ओमारमाथि आक्रमणको प्रयास: टाउन हलमै ‘स्प्रे’ छर्कने व्यक्ति पक्राउ

न्युयोर्क- अमेरिकाको मिनियापोलिसमा मंगलबार आयोजित एक टाउन हल बैठकमा डेमोक्र्याटिक सांसद इल्हान ओमारमाथि आक्रमणको प्रयास भएको छ। एन्थोनी जेम्स काजमियर्सक नाम गरेका ५५ वर्षीय एक व्यक्तिले सिरिन्ज प्रयोग गरेर उनीमाथि नराम्रो गन्ध आउने तरल पदार्थ छर्कन खोज्दा सुरक्षाकर्मीले तत्कालै उनलाई नियन्त्रणमा लिएका छन्।

ओमारले अध्यागमन एजेन्सी खारेज गर्नुपर्ने र होमल्यान्ड सेक्युरिटी सेक्रेटरीले राजीनामा दिनुपर्ने माग राखिरहँदा ती व्यक्तिले “तिमीले राजीनामा दिनुपर्छ” भन्दै आक्रमण गर्न खोजेका थिए। तर, ओमार रत्तिभर विचलित भइनन्। उनले “म युद्ध बाँचेर आएकी मान्छे हुँ, यस्ता तर्साउने हर्कतले मलाई गलाउन सक्दैनन्” भन्दै आफ्नो भाषण जारी राखिन्। प्रहरीले ती व्यक्तिलाई ‘थर्ड-डिग्री असल्ट’ को अभियोगमा पक्राउ गरेको छ। अमेरिकामा पछिल्लो समय नेताहरूमाथिको भौतिक आक्रमण बढ्दो छ; केही दिनअघि मात्रै अर्का सांसद म्याक्सवेल फ्रस्टमाथि पनि मुक्का प्रहार भएको थियो।