पक्राउको त्रासमा आप्रवासी समुदाय, परिचयपत्र बोकेर हिँड्न बाध्य
- १४ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अहिले मिनियापोलिस सहर पहिले जस्तो छैन। जताततै शोक, त्रास र सरकारी कदमविरुद्धको आक्रोश देखिन्छ। इमिग्रेसन एजेन्टको गोलीबाट रेनी गुड र एलेक्स प्रेटीको मृत्यु भएपछि सहरको दैनिकी नै उल्टिएको छ। सडकका पोल र पुलहरूमा ‘Anti-ICE’ (एजेन्ट विरोधी) पोस्टरहरू टाँसिएका छन् भने कफी पसलहरूमा “आफ्नो अधिकार जान” लेखिएका पर्चाहरू छरपस्ट भेटिन्छन्। ३,००० संघीय एजेन्टहरू सडकमा तैनाथ भएपछि मानिसहरूलाई सामान्य किनमेल गर्न निस्कँदा पनि “हामीमाथि आक्रमण भइरहेको छ” भन्ने महसुस हुन थालेको छ।
यही डरका बीच समुदाय भने एकढिक्का भएको छ। ४१ वर्षीय कर्पोरेट वकिल स्टिभन यंगले “जागिरभन्दा सहरलाई मेरो खाँचो छ” भन्दै काम छोडेर एजेन्टहरूको निगरानी गर्ने अभियानमा लागेका छन्। स्वयंसेवकहरूले स्कुल वरिपरि मानव साङ्लो बनाएर पहरा दिइरहेका छन् भने घरबाट निस्कन डराएका २८,००० परिवारलाई पास्टर सर्जियोको टोलीले रासन पुर्याइरहेको छ। डरले गर्दा बजारहरू सुनसान छन्, व्यापार ५० प्रतिशतले घटेको छ। स्कुल जाँदै गरेका बालबालिका समेत पक्राउ पर्न थालेपछि विद्यालयहरूले अनलाइन कक्षा सुरु गरेका छन्। सोमालियाली समुदायका नागरिकहरू परिचयपत्र बोकेर मात्र हिँड्छन्, कतै विनाकारण समातिने हो कि भन्ने त्रासमा सहर बाँचिरहेको छ।