ट्रम्पको इरानलाई ‘अल्टिमेटम’: ‘समय सकिन लाग्यो’, खाडीमा अमेरिकी सेनाको लर्को
- १४ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई आणविक सम्झौताका लागि “समय घर्किसकेको” भन्दै कडा चेतावनी दिएका छन्। खाडी क्षेत्रमा अमेरिकी सेनाको भारी उपस्थिति बढाउँदै उनले भनेका छन्— एउटा विशाल जलसेना , जसको नेतृत्व विमानवाहक पोत ‘युएसएस अब्राहम लिंकन’ ले गरिरहेको छ, पूर्ण शक्ति र जोसका साथ इरानतर्फ बढिरहेको छ।
ट्रम्पले ‘ट्रुथ सोसल’ मार्फत इरानलाई तुरुन्तै “कुनै आणविक हतियार नराख्ने” सम्झौतामा आउन आग्रह गरेका छन्। उनले यो सैन्य दस्ता भेनेजुएलाका पूर्वनेता निकोलस मदुरोलाई पक्राउ गर्न पठाएको भन्दा पनि शक्तिशाली भएको दाबी गरे। गत वर्ष (२०२५) इरानका आणविक केन्द्रहरूमा गरिएको अमेरिकी हमलालाई सम्झाउँदै उनले धम्की दिए, “अर्को आक्रमण त्योभन्दा कयौँ गुणा भयानक हुनेछ! त्यस्तो अवस्था आउन नदेऊ।”
उता इरानले पनि अमेरिकालाई “सम्मानजनक वार्ता” का लागि तयार रहेको तर धम्की दिएर कोही नतर्सिने जवाफ फर्काएको छ। इरानी मिसनले स्पष्ट भनेको छ— यदि अमेरिकाले जिस्क्यायो भने “पहिले कहिल्यै नसोचेको” जवाफ दिइनेछ। इरानमा जारी आन्दोलनमा ६ हजारभन्दा बढी मानिस मारिएको र हजारौँ बेपत्ता भएको खबरहरू आइरहँदा यो सैन्य तनावले स्थिति झन् विस्फोटक बनाएको छ।