२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

न्यूयोर्कमा ‘स्नो रिमुभल’ को व्यापार फस्टायो: गाडी निकाल्न ९० डलरसम्म शुल्क

न्यूयोर्कमा ‘स्नो रिमुभल’ को व्यापार फस्टायो: गाडी निकाल्न ९० डलरसम्म शुल्क

न्यूयोर्क- न्यूयोर्कमा भारी हिमपातपछि सडकमा पुरिएका गाडीहरू निकाल्न मानिसहरूले पैसा तिर्न थालेपछि एउटा नयाँ ‘कटेज इन्डस्ट्री’ (सानो व्यवसाय) फस्टाएको छ। ब्रोंक्सका सडकहरूमा हिउँ पन्छाउने गाडी (Plows) ले सफा गरिसकेको ठाउँमा फेरि हिउँ थुपार्दिएपछि स्थानीयहरू हैरान छन्।

यही समस्यालाई किथ रोबर्ट्स जस्ता व्यक्तिहरूले आम्दानीको स्रोत बनाएका छन्। पेसाले ट्रक ड्राइभर रोबर्ट्सले आफ्नो ड्युटी सकेपछि बेल्चा बोकेर छिमेकीका गाडी खन्न निस्कन्छन्। आइतबारदेखि उनले १५ वटा गाडी हिउँबाट निकालिसकेका छन्। हिउँ कति जमेको छ भन्ने हेरेर उनी एउटा गाडीको करिब ९० डलर (करिब १२ हजार रुपैयाँ) लिन्छन्। बढ्दो चिसोले हिउँ बरफको ढिक्का बन्दै गएपछि उनले हाँस्दै भने, “हिजोको भाउ आज चल्दैन, अब मेहनत बढी लाग्छ।”

म्यानहट्टनमा ‘मुभिङ कम्पनी’ चलाउने मुरेले पनि जाडोमा सामान ओसारपसारको काम कम हुने भएकाले अहिले हिउँ पन्छाउने काम सुरु गरेका छन्। “फोन लगातार बजिरहेको छ,” उनी भन्छन्। तीन दिनदेखि हिउँमा पुरिएको गाडी निकालिदिएपछि एक ग्राहकले भनिन्, “यसका लागि पैसा तिर्नु पूर्ण रूपमा जायज छ।”