अमेरिकामा आप्रवासी धरपकडको नयाँ रूप: सडकमै नागरिकको ‘फेस स्क्यान’, गोपनीयतामा गम्भीर प्रश्न
- १६ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- अमेरिकाको मिनियापोलिसमा आप्रवासी (Immigrants) खोज्ने नाममा संघीय एजेन्टहरूले अब अत्याधुनिक जासुसी प्रविधिको प्रयोग बढाएका छन्। यसको प्रत्यक्ष मारमा आफ्नै देशका नागरिक पनि पर्न थालेका छन्। हालै लुइस मार्टिनेज नामका एक अमेरिकी नागरिक काममा जाँदै गर्दा एजेन्टहरूले उनको गाडी रोकेर जबरजस्ती मोबाइलबाट अनुहार स्क्यान (Face Scan) गरेका थिए। साथमा पासपोर्ट देखाएपछि मात्र उनले छुटकारा पाए।
ट्रम्प प्रशासनले यसलाई “सबैभन्दा ठुलो आप्रवासी कारबाही” भनिरहँदा होमल्यान्ड सेक्युरिटी (DHS) ले अनुहार पहिचान गर्ने सफ्टवेयर, लाइसेन्स प्लेट रिडर र लोकेसन डाटाको व्यापक प्रयोग गरिरहेको खुलासा भएको छ। यसले गर्दा निर्दोष नागरिकहरूको गोपनीयता (Privacy) लुटिएको र उनीहरू आफ्नै सहरमा असुरक्षित महसुस गर्न थालेको अधिकारकर्मीहरूले बताएका छन्। हालै दुई अमेरिकी नागरिकको एजेन्टको गोलीबाट मृत्यु भएपछि मिनियापोलिसमा त्रासको वातावरण बनेको छ। मार्टिनेज भन्छन्, “पहिले यो स्वर्ग जस्तो थियो, अहिले मानिसहरू डराएर भाग्दै छन्।”