मिनियापोलिसबाट सेना हटाउन ‘बोर्डर जार’ को सर्त: ‘राज्यले सहयोग गरे मात्र फिर्ता हुन्छौँ’
- १६ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- ह्वाइट हाउसका ‘बोर्डर जार’ (सीमा मामिला प्रमुख) टम होमनले मिनियापोलिसबाट संघीय आप्रवासी एजेन्टहरूको संख्या घटाउन सकिने बताएका छन्, तर त्यसका लागि राज्यका अधिकारीहरूले पूर्ण ‘सहयोग’ गर्नुपर्ने र ‘खतरनाक बयानबाजी’ रोक्नुपर्ने कडा सर्त राखेका छन्। राष्ट्रपति ट्रम्पले खटाएपछि पहिलोपटक मिनियापोलिस पुगेका होमनले भने, “राष्ट्रपति ट्रम्प यो समस्या सुधार्न चाहनुहुन्छ र म यसलाई सुधारेरै छाड्छु।”
होमनले अबको कारबाही ‘लक्षित’ र ‘सुरक्षित’ हुने दाबी गरे पनि आफ्नो मिसनबाट पछि नहट्ने स्पष्ट पारेका छन्। यता, सीमा सुरक्षा बलको गोलीबाट मारिएका आईसीयू नर्स एलेक्स प्रेटी र रेनी गुडको मृत्युले सहर अझै तनावग्रस्त छ। प्रेटीले मृत्यु हुनुभन्दा ११ दिनअघि एउटा विरोध प्रदर्शनमा गाडीको लाइट फुटाएको भिडियो सार्वजनिक भएपछि बहस फेरि चर्किएको छ। यसैक्रममा, समाचार संकलनमा खटिएका एपी (AP) का पत्रकारहरूलाई समेत सुरक्षाकर्मीले धकेल्ने र पक्राउ गर्ने धम्की दिएको घटना बाहिर आएको छ।