मेक्सिकोले ट्रम्पलाई भन्यो- ‘हाम्रो देशमा तिम्रो सेना पस्न पाउँदैन’
- १७ माघ २०८२
- १ मिनेटको पढाई
न्युयोर्क- मेक्सिकोकी राष्ट्रपति क्लाउडिया सेनबमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई फोन गरेर आफ्नो देशको सार्वभौमिकताबारे कडा सन्देश दिएकी छिन्। उनले ट्रम्पलाई स्पष्ट शब्दमा भनिन्— “मेक्सिकोको भूमिमा हुने कुनै पनि कारबाही केवल मेक्सिकन सेनाले मात्र गर्नेछ, अमेरिकाले होइन।”
यो विवाद खासमा लागुऔषध तस्करीको आरोप लागेका पूर्व ओलम्पिक खेलाडी रायन वेडिङको गिरफ्तारीपछि चर्किएको हो। एफबीआईले उनलाई मेक्सिकन सेनासँग मिलेर ‘जमिनमै उत्रिएर’ समातेको दाबी गरेको थियो, जसले मेक्सिकोमा अमेरिकी हस्तक्षेपको डर पैदा गरायो। तर, राष्ट्रपति सेनबमले यसलाई नकार्दै वेडिङ आफैँ आत्मसमर्पण गर्न आएको बताएकी छिन्।
भेनेजुएलामा अमेरिकी सेनाले गरेको कारबाहीपछि मेक्सिको पनि झस्किएको छ। त्यसैले सेनबमले ट्रम्पसँगको फोन वार्तामा व्यापार र सीमा सुरक्षाको कुरा त गरिन्, तर “हामी अमेरिकी सेनाको संयुक्त अपरेसन स्वीकार गर्दैनौँ” भनेर अडान लिइन्। यद्यपि, ट्रम्पको रिस शान्त पार्न उनले हालै दर्जनौँ कार्टेल सदस्यहरूलाई अमेरिका सुपुर्दगी गरेकी छिन्।