न्यूयोर्कमा चिसोले ज्यान गुमाउनेको संख्या १४ पुग्यो, मेयरद्वारा ‘इतिहासकै कठिन समय’ को चेतावनी
- १८ माघ २०८२
- १ मिनेटको पढाई
न्यूयोर्क: अमेरिकाको न्यूयोर्क सहरमा चलिरहेको हाड कमाउने चिसोको कहर तत्काल रोकिने छाँटकाँट देखिएको छैन। शनिबार मेयर जोहरान मामदानीले चिसोका कारण १४ औँ व्यक्तिको मृत्यु भएको पुष्टि गरेपछि सहरमा त्रास र चिन्ता थपिएको छ।
ब्रोंक्समा आयोजित एक कार्यक्रममा बोल्दै मेयर मामदानीले यो घटनालाई “दुःखद त्रासदी” को संज्ञा दिए। मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै उनले भने, “हामीले जनवरी १९ देखि नै ‘कोड ब्लु’ लागु गरेका छौँ र सडकमा रहेका नागरिकलाई न्यानो स्थानमा सार्न प्रशासनले सम्पूर्ण शक्ति लगाएको छ।”
मौसमको यो विषम् परिस्थितिलाई मेयरले न्यूयोर्कको इतिहासमै लगातार ३२ डिग्री (फेरेनहाइट) भन्दा कम तापक्रम रहने “सबैभन्दा लामो र कष्टकर समय” हुन सक्ने चेतावनी दिएका छन्। नागरिकको जीवन रक्षाका लागि प्रशासनले कडा कदम चाल्दै अहिलेसम्म ८६० भन्दा बढी घरबारविहीनलाई सुरक्षित आश्रय स्थल मा सारिसकेको छ। त्यस्तै, अत्यधिक चिसोमा पनि बाहिरै बसिरहेका र आफैँ निर्णय गर्न नसक्ने वा अरूका लागि खतरा हुन सक्ने १६ जनालाई उनीहरूको इच्छाविपरीत भए पनि उठाएर अस्पताल पुर्याइएको छ।
प्रारम्भिक रिपोर्ट अनुसार, ज्यान गुमाउनेमध्ये कम्तीमा ८ जनाको मृत्युको कारण ‘हाइपोथर्मिया’ (अत्यधिक चिसोले शरीरको तापक्रम घट्नु) रहेको पाइएको छ। मृतकहरूको विस्तृत पोस्टमार्टम रिपोर्ट आउन अझै एक हप्ता लाग्न सक्ने अधिकारीहरूले बताएका छन्।