पर्यटकले भरियो नेपाल: एकै महिनामा भित्रिए ९२ हजार विदेशी, कुन देशबाट कति आए?
- १८ माघ २०८२
- १ मिनेटको पढाई
काठमाडौँ: नयाँ वर्ष २०२६ को सुरुआतसँगै नेपालको पर्यटन क्षेत्रमा गज्जबको उत्साह देखिएको छ। जनवरी महिनामा मात्रै ९२ हजार ५ सय ७३ जना विदेशी पर्यटक नेपाल घुम्न आएका छन्। यो संख्या पोहोर सालको यही महिनाको तुलनामा करिब १६ प्रतिशतले बढी हो। अझ खुसीको कुरा त के छ भने, कोरोना महामारी आउनुभन्दा अगाडि सन् २०१९ को तुलनामा पनि यो आगमन १४ प्रतिशतले बढी देखिएको छ।
सधैँझैँ यसपालि पनि नेपाल घुम्न आउनेमा भारतीयहरूकै लर्को लागेको छ। जनवरीमा मात्रै २६ हजार ६ सयभन्दा बढी भारतीय पर्यटक नेपाल भित्रिए, जुन कुल आगमनको करिब २९ प्रतिशत हो। दोस्रो नम्बरमा उत्तरी छिमेकी चीन छ, जहाँबाट ९ हजार १ सय १ जना पर्यटक आएका छन्। अमेरिकाबाट आउनेको संख्या पनि लोभलाग्दो छ। यो एक महिनामा ८ हजार ४ सय ६ जना अमेरिकी नागरिकले नेपालमा पाइला टेकेका छन्। त्यस्तै, बंगलादेशबाट ५ हजार ८ सय र अस्ट्रेलियाबाट करिब ५ हजार पर्यटक नेपाल आएको तथ्यांकले देखाएको छ।
नेपाल पर्यटन बोर्डका सीईओ दीपकराज जोशीले यो तथ्यांकलाई निकै सकारात्मक मानेका छन्। उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा नेपालप्रतिको विश्वास बढ्दै गएको छ। हवाई सम्पर्कको विस्तार र नेपालको साहसिक तथा सांस्कृतिक पर्यटनप्रतिको आकर्षणले गर्दा नै विदेशी पाहुनाको आगमन बढेको हो। जोशीले नेपाल अब साँच्चिकै ‘जीवनमा एकपटक पुग्नैपर्ने गन्तव्य’ का रूपमा स्थापित हुँदै गएको बताएका छन्।