२३ फाल्गुन २०८२, शनिबार
7 March 2026, Saturday

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० देखि काठमाडौँमा

एनआरएनएको १२औँ सम्मेलन फागुन ३० देखि काठमाडौँमा

काठमाडौँ- ‘गैरआवासीय नेपाली सङ्घ’ (एनआरएनए) को १२औँ विश्व सम्मेलनको मिति पक्का भएको छ। लामो समयको रस्साकस्सी र आन्तरिक विवादपछि अन्ततः आगामी फागुन ३० गतेदेखि चैत २ गतेसम्म काठमाडौँमा यो महाधिवेशन हुने भएको हो।

सोमबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सङ्घले यसबारे जानकारी दिएको हो। यसपटकको सम्मेलनका लागि ‘हाम्रो एकता, समृद्धिको आधार’ भन्ने मूल नारा तय गरिएको छ। सम्मेलनलाई व्यवस्थित बनाउन परराष्ट्र मन्त्रीकै नेतृत्वमा एउटा उच्चस्तरीय आयोजक समिति पनि गठन भइसकेको छ।

विगतका १०औँ र ११औँ महाधिवेशनमा संस्थाभित्र देखिएको चरम विवाद र गुटबन्दी अब सकिएको दाबी गरिएको छ। गत नोभेम्बर ३० मा प्रधानमन्त्री सुशीला कार्कीको उपस्थितिमा भएको ऐतिहासिक सहमतिले सङ्घभित्रको झगडा अन्त्य गरेको र अब संस्था एक ढिक्का भएर अघि बढ्ने विज्ञप्तिमा उल्लेख छ। सन् २००३ मा ‘नेपालीका लागि नेपाली’ भन्ने भावनासहित सुरु भएको यो अभियानले अब विश्वभरका नेपालीलाई एकताको सूत्रमा बाँध्ने विश्वास लिइएको छ।